
लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे मन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पाण्डेलाई युवा तथा खेलकुदमन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८१ साउन ९ गते गठन गरिएको र पछिल्लोपटक कात्तिक ७ गते पुनर्गठित मन्त्रिपरिषदमा पाण्डेलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन्।
पाण्डेले भोलि दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। मुख्यमन्त्रीसहित १२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।
वर्तमान मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित पाँचजना मन्त्री एमालेबाट, पाँचजना कांग्रेसबाट र एकजना जनता समाजवादी पार्टीबाट रहेकोमा लोसपाबाट एक मन्त्री भएका हुन्। मुख्यमन्त्री आचार्यले आफू मुख्यमन्त्रीमा नियुक्त भएको एक वर्ष पूरा भएसँगै मन्त्रिमण्डल १२ सदस्यीय पुर्याएका हुन्। ०८१ साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले कात्तिक ७ मा तीन मन्त्री थप गरेर ११ सदस्यीय पुर्याएकोमा आइतबार लोसपाका पाण्डेलाई नियुक्त गरेर १२ सदस्यीय पुर्याएका छन्।