मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ८ बिहीबार o८:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४७औँ पुष्पलाल स्मृति दिवस : वाम–समाजवादीको मोर्चा बनाउँदै पार्टी एकताको प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार o८:४७:oo

समाजवादी मोर्चाका नेताहरूले सच्चा वाम–समाजवादी एकतामा जोड दिएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसका अवसरमा समाजवादी मोर्चाले बुधबार राष्ट्रिय सभागृहमा आयोजना गरेको विचार गोष्ठीमा मोर्चाका शीर्ष नेताहरूले एकतामा जोड दिएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुष्पलालको नीतिअनुसार नै पुँजीवादविरुद्ध एक ठाउँमा उभिन अपिल गरेका छन् । दलाल पुँजीवादको पछि लाग्नेहरू सच्चा कम्युनिस्ट नभएको जिकिर पनि उनले गरे । ‘दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण जरुरी छ । दलाल पुँजीवाद र नोकरसाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ । त्यसैले बलियो कम्युनिस्ट मोर्चा बनाउन म अपिल गर्छु– पार्टी एकता पनि गरौँ । संयुक्त मोर्चा पनि बनाऔँ । धेरै व्याख्या आवश्यक छैन । पार्टी एकता र संयुक्त मोर्चा बनाए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ,’ उनले भने ।

दलाल, नोकरसाही पुँजीवादका विरुद्ध इमानदारिता साथ विश्लेषण गरेर एकताबद्ध हुने आधार खोज्न सकिने उनले औँल्याए । ‘कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता– यी सबैमा मैले नेतृत्व गरेको हुँ । अहिले पनि मैले कम्युनिस्टहरूको एकताको झन्डा बोकेको छु,’ प्रचण्डले भने । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा चुनौती देखिए पनि सामना गर्ने साहस देखाएर अगाडि बढ्नुपर्ने बताए । कम्युनिस्ट पार्टीका नेता प्रधानमन्त्री हुँदासमेत देश र जनताको अवस्था राम्रो हुन नसकेको र जनतामा निराशा छाएको भन्दै उनले नयाँ शिराबाट अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । ‘देशको राजनीतिक, सामाजिक र आर्थिक विषयमा बहस हुन जरुरी छ । कम्युनिस्ट आन्दोलनमा चुनौती देखिएका छन् । त्यसको सामना गर्ने साहस हामीले देखाउनुपर्छ । व्यक्तिभन्दा नीति र सिद्धान्तलाई महत्वपूर्ण ठानेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्छ,’ उनले भने, ‘धेरै समूहमा विभाजित कम्युनिस्टहरू एकआपसमा छलफल गरेर एउटै हुन जरुरी छ ।’

नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्न नहुनेमा जोड दिए । एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालले आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको बताए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी ध्रुवीकरणका लागि नयाँ प्रस्ताव र नयाँ घोषणापत्रको आवश्यकता औँल्याए । देशको वर्तमान संकटको निकास समाजवादभन्दा अर्को विकल्प नभएकोमा उनले जोड दिए । ‘पुष्पलालदेखि आजसम्म आइपुग्दा हामी एकताको कुरा गर्छौँ, तर फुटको सामना गरिरहेका छौँ । हामीभित्र उकुसमुकुस छ, हामीलाई चाहिएको एकता नै हो, मोर्चा नै हो, हामीलाई चाहिएको सहकार्य, सहयात्रा नै हो । तर, त्यसका लागि हामीलाई निश्चित एउटा दृष्टिकोण चाहिन्छ । देशमा समाजवादी धु्रवीकरण आवश्यक छ, त्यसका निम्ति नयाँ प्रस्ताव र नयाँ घोषणापत्र तयार गर्नुपर्छ,’ उनले भने, ‘यो देशको मालिक श्रमजीवी जनता हुनुपर्छ । त्यसका लागि एक दिन समाजवादीहरू एकताबद्ध हुन्छन् र जितिन्छ ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने कम्युनिस्ट आन्दोलन वर्गविश्लेषणबाट नभई जालझेलबाट अघि बढिरहेको आरोप लगाए । कम्युनिस्ट आन्दोलनमा देखिएको विकृति विसंगतिलाई अन्त्य गर्न कम्युनिस्ट नेताहरू गम्भीर हुनुपर्ने सुझाव उनले दिए । संस्थापक महासचिव पुष्पलाललाई समेत षड्यन्त्र गरेर हटाउने काम भएको उनले स्मरण गरे ।