
पूर्वप्रधानमन्त्री तथा नेपा कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
आज नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उनले सो कुरा बताएका छन् ।
त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले राज्यको ‘माइन्डसेट’ परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याएको दाहालको सचिवालयले जनाएको छ ।
‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,’ अध्यक्ष दाहाल भने, ‘राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’
परिसंघका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गरेका थिए ।