मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format १४:२२:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

साढे आठ करोडको लागतमा रुम्टाखोलामा पक्की पुल 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

एक वर्ष पहिले बागलुङ कुश्मिसेरा हुँदै बरेङ–शान्तिपुर सडकअन्तर्गत पर्ने रुम्टाखोलामा पुल नहुँदा बर्खाको समयमा यात्रुहरूले निकै सास्ती खेप्नुपरेको थियो । जैमिनी नगरपालिका ९ र १० को सिमानामा पर्ने रुम्टाखोलामा पुल नहुँदा राङखानी, बरेङ र गुल्मीको शान्तिपुरबाट बागलुङ सदरमुकामसँगै पोखरा, काठमाडाैं जाने यातायातका साधनलाई निकै कठिनाइ हुने गर्दथ्यो । यस वर्ष पक्की पुल निर्माण भएसँगै यस क्षेत्रका नागरिकलाई सहज भएको छ।

डेढ महिना पहिलेदेखि पुल सञ्चालनमा आएको छ। बागलुङ र गुल्मी जिल्लालाई जोड्ने कुश्मिसेरा–बरेङ-शान्तिपुर सडकखण्डअन्तर्गत रुम्टाखोला पुलमा सवारीसाधन सञ्चालन हुन थालेपछि यस क्षेत्रका नागरिकलाई सहज भएको छ । पुल नहुँदा वैकल्पिक सडकको प्रयोग गरेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो, त्यो अहिले टरेको छ ।

आगामी वेशाख १० गतेसम्मको सम्झौता
पुल निर्माणका लागि ०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले नै पुल तयार भएपछि पुल सञ्चालनमा आएको छ। पुल निर्माणको अधिकांश काम सकिएको र अहिले उक्त पुलबाट सवारीसाधन सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर गोविन्दप्रसाद चौधरीले बताए। ‘पुल निर्माणको सम्झौता २०८१ साल वैशाख ११ गते भएर काम अगाडि बढेको हो,’ चौधरीले भने, ‘काम सम्पन्न गर्ने मिति आगामी वैशाख १० गतेसम्म हो। पुलको काम भने धेरैजसो सकियो। अहिले पुलबाट सवारी सञ्चालन हुन थालिसकेका छन् । दायाँबायाँको फाउन्डेसनको काम भने अझै बाँकी छ। बर्खा लागिसकेको छ, पानी बसेपछि यो काम पनि सम्पन्न हुन्छ ।’ 

०५६ सालमा कच्ची सडक निर्माणसँगै कुश्मिसेरा–बरेङ–शान्तिपुर सडक नियमित यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी नगरपालिका- ९ पैयुँ र १० राङखानीसँगै सिंगो बरेङ गाउँपालिकाका नागरिकले बर्खामा सास्ती खेप्नुपर्थ्याे । पुल नहुँदा बर्खाको समयमा यातायात ठप्प हुँदा जैमिनी ९ र १० नम्बर वडाका नागरिक पालिका मुकामसँगै विच्छेद भएर बस्नुपर्ने बाध्यता थियो । सडक निर्माण भएको १७ वर्षपछि उक्त स्थानमा पुल बनेपछि दक्षिणी बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको जैमिनी नगरपालिका– १० राङखानीका भीम श्रीषले बताए । 

साढे आठ करोडको लागत, पाँच करोडमा सम्झौता
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर उक्त पुल निर्माण गरेको हो । कुल आठ करोड एक लाख ५९ हजार ६०८ रुपैयाँ  लागत स्टिमेट रहेकोमा निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले ६ करोड नाै लाख ४६ हजार ३६७ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो ।

 इमानदारीपूर्वक काम गर्दा समयभन्दा अगाडि नै काम गर्न सकिने सूर्योदय कन्स्ट्रक्सन पर्वतका प्रतिनिधि राम क्षेत्री बताउँछन् । ‘आफूले जिम्मा लिएको काम बेलैमा गरौँ भनेर हामीले आफ्नो कामलाई अगाडि बढायौँ,’ उनले भने, ‘कामदारहरूको सही परिचालन गर्न सकियो भने बेलैमा काम हुन्छ ।’ ‘पुलको काम सबैजसो सकिएर ढलान सेटल भएपछि पुल सञ्चालनमा आएको छ,’ उनी भन्छन्, ‘मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम छ । त्यो कामका लागि भने अर्को आर्थिक वर्षसम्म जाने भो । हामी सबै काम गरेर सम्झौताअगावै पुल हस्तान्तरण गर्ने पक्षमा छौँ ।’ रुम्टाखोला पुलले जैमिनी नगरपालिकासँगै बरेङ गाउँपालिका र गुल्मीका हजारँ नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा बताउँछन् ।

पुल बनेपछि सजिलो भएको छ 
‘बागलुङ र गुल्मी दुई जिल्ला जोड्ने निकै महत्त्वपूर्ण सडकको रूपमा रहेको कुश्मिसेरा–बरेङ–शान्तिपुर सडक निर्माण भएर पनि रुम्टाखोलामा पुल नहुँदा बर्खाको समयमा हजारौं नागरिक प्रभावित हुने अवस्था थियो,’ उनले भने, ‘यो पुलले धेरै सजिलो भएको छ । वर्षौेंदेखिको नागरिकको सास्ती कम भएको छ ।’ पुल निर्माण भएपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुने उनको विश्वास छ । 

‘हामीहरूको निरन्तरको प्रयास, पूर्वाधार कार्यालयको निगरानी र निर्माणा कम्पनीको इमानदार कामले गर्दा यो पुल तोकिएको समयभन्दा पहिले नै सञ्चालनमा आउने अवस्था बनेको छ,’ उनी भन्छन्, ‘पुल नहुँदा बर्खामा यातायात नै विच्छेद भएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ पुल निर्माणसँगसँगै उक्त सडकखण्ड कालोपत्रेका लागि प्रयास भइरहेको उनले बताए ।

‘यो सडक कालोपत्र भइसक्नुपर्ने सडक हो, निर्माण कम्पनीले समयमा काम नगरिदिँदा समस्या देखिएको छ,’ उनले भने, ‘यहाँको नागरिक समाज, राजनीतिक अगुवाहरूसँगै हामीले निरन्तर प्रयास गरिरहेका छौँ । यो सडक कालोपत्र भएको खण्डमा यस क्षेत्रका लागि जीवनरेखा बन्छ ।’ उक्त सडकका माथिल्लो खण्ड राङखानी-बरेङमा सडक कालोपत्र भइसके पनि तल्लो खण्ड कुश्मिसेरा-राङखानी खण्डमा सडक कालोपत्र अझै हुन सकेको छैन ।