
धनकुटाको सहिदभूमि गाउँपालिकाबाट एक युवालाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका– ५ का २३ वर्षीय सुवास राईलाई खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ २५० मिलिग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।
सहिदभूमि गाउँपालिका– ६ सुकेआहालमा प्रदेश नम्बर १–०२–०४८ प ४८९२ नम्बरको मोटरसाइकल शंका लागेर चेकजाँच गर्ने क्रममा राईको साथबाट खैरो हेरोइन फेला परेको थियो । राईको साथबाट सानासाना पाँच पोकामा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ २५० मिलिग्राम प्रहरीले फेला पारेपछि उक्त पदार्थसहित मोटसाइकल र राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी खनालले बताए ।