
लगातार दोस्राेपटक तिरहुत टाइगर्सले मेयर कप सप्तरी प्राइड लिगको उपाधि जितेको छ। बिहीबार सम्पन्न प्रतियोगिताको सातौँ संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई नाै विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकाे हाे।
सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य पाएको तिरहुत टाइगर्सले १५.३ ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य पूरा गर्याे।
टाइगर्सका ओपनर भोला शाहले अविजित अर्धशतक बनाउँदै जितमा अहं योगदान दिए। उनले ४५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। भोलाले दोस्राे विकेटका लागि नीरज यादवसँग अविजित ७९ रनको साझेदारी गरे। नीरजले अविजित १८ रन बनाउँदा अभिनाश कर्णले १३ रनकाे योगदान दिए। रोयलका नितेश यादवले एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा नाै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। रोयलको लागि रोहन विकले सर्वाधिक २३ रन योगदान दिए। यस्तै, अभिषेक तिवारीले १९ तथा जितु यादवले अविजित १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
टाइगर्सको बलिङतर्फ श्रवन यादवले सर्वाधिक तीन विकेट लिए जुन क्रममा उनले चार ओभरमा ३२ रन खर्चिए। यस्तै, चित्रबहादुर विष्ट र अनिल यादवले दुई–दुई विकेट लिए भने राहुल मण्डल र अजय यादवको नाममा एक–एक विकेट रह्यो।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको उपाधिसहित विजेता तिरहुत टाइगर्सले दुई लाख रुपैयाँ प्राप्त गर्याे भने उपविजेता राजविराज राजदेवी रोयलले एक लाख रुपैयाँ पायो।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी राजविराज राजदेवी रोयलका दिवान पुन घोषित भए जसले २५ हजार रुपैयाँ पाए। प्रतियोगिताभर उनले चार खेलमा १०१ रन बनाउनुको साथै ६ विकेट पनि लिए।
यस्तै, उत्कृष्ट ब्याटर चार खेलमा १३८ रन बनाएका तिरहुत टाइगर्सका भोला शाह घोषित भए भने उत्कृष्ट बलर पनि चार खेलमा १३ विकेट लिएका टाइगर्सकै चित्रबहादुर विष्ट भए। उत्कृष्ट ब्याटर र बलरले समान १५ हजार रुपैयाँ पाए। प्रतियोगिताको उदीयमान खेलाडी रोयल तिरहुत टाइगर्सका अनिल यादव घोषित भए।
आठ दिन सञ्चालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका आठ टिम सहभागी थिए।