मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
Invalid date format १३:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अब थोरै कित्ताको सेयर बेच्न र किन्न सजिलो हुने, नेप्सेले ल्यायो अड लटको नयाँ सुविधा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

सेयर बजारमा थोरै सेयर (१ देखि ९ कित्तासम्म) बेच्न र किन्न नपाएको सर्वसाधारण लगानीकर्ताको गुनासो सम्बोधन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साउन १ गतेदेखि आफ्नो वेबसाइटको ‘मार्केट डेप्थ’मा थोरै कित्ताको सेयर किनबेच गर्न राखिएको अर्डर (आदेश) देखिने व्यवस्था लागू गर्ने भएको छ।

यसअघि थोरै सेयर बेच्न र किन्न खोज्दा बजारमा त्यो अर्डर देखिँदैनथ्यो। अब भने ‘मार्केट डेप्थ’मा ती अर्डरहरू देखिने भएकाले जसले पनि सजिलै थोरै सेयर किनबेच गर्न सक्ने नेप्सेले जनाएको छ। नेप्सेका अनुसार लगानीकर्ताले ‘अड लट’ भनिने यस्तो थोरै कित्ताका सेयर बजारमै किनबेच गर्न नपाएको गुनासो आएपछि यस्तो नयाँ सुविधा ल्याएको हो। अहिलेसम्म नेप्सेको सिस्टममा १–९ कित्ताको सेयर किनबेच गर्न चाहनेहरूले अर्डर नै देख्न पाउँदैनथे। त्यसैले धेरैको खातामा थोरै सेयर अलपत्र परेका थिए।

नयाँ सुविधा आएपछि के हुन्छ ?

अब साउन १ गतेदेखि थोरै सेयर किनबेच गर्न चाहनेले अर्डर राखेपछि त्यो ‘मार्केट डेप्थ’मा देखिनेछ। जसले गर्दा त्यस्तो अर्डर अरू सबै लगानीकर्ताले पनि देख्न पाउनेछन् र खरिद वा बिक्री गर्न सक्नेछन्। नेप्सेका अनुसार, बजारमा छरिएर रहेका यस्ता थोरै सेयर पनि सहजै किनबेच हुने र लगानीकर्तालाई पोर्टफोलियो मिलाउन सजिलो हुने अपेक्षा गरिएको छ।

नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले भने, ‘अड लटले बजारको मूल्य र परिसूचकमा असर गर्दैन, त्यसैले अब यस्तो सेयर किनबेचलाई सजिलो बनाउन अर्डर देखिने गरी तयारी गरेका छौँ।’ उनका अनुसार अब थोरै सेयर किन्न वा बेच्न चाहने लगानीकर्तालाई पहिलेजस्तो समस्या रहनेछैन। उनीहरूले अन्य सेयरझैँ सजिलै बजारमै कारोबार गर्न सक्नेछन्।

‘अड लट’ र ‘बोर्ड लट’ के हो ?

सेयर किनबेच गर्न एउटा निश्चित संख्यालाई ‘बोर्ड लट’ भनिन्छ। उदाहरणका लागि, एउटा सेयरको अंकित मूल्य १० रुपैयाँ भए १०० कित्ता, १०० रुपैयाँ भए १० कित्ता, एक हजार  रुपैयाँ भए एक कित्ता सेयरको कारोबार बोर्ड लटमा पर्छ । तर, बोर्ड लटभन्दा कम संख्याको सेयर (जस्तै १ देखि ९ कित्ता) किन्न र बेच्नुलाई ‘अड लट कारोबार’ भनिन्छ।

अड लट सेयरको कारोबार हुँदा बजारको मूल्य र परिसूचकमा असर नपर्ने व्यवस्था रहेको छ। यसैले अड लट सेयरले बजारको उतारचढावमा असर गर्दैन। विनियमावलीले उल्लिखितभन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ । अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिँदैन । धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ ।