
साउन १ गतेदेखि धरहरा दैनिक १२ घण्टा खुल्ने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दैनिक १२ घण्टा धरहरा खुल्ने भएको हो ।
यसअघि दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म धरहरा सर्वसाधारणका लागि खुला हुँदै आएको थियो ।
सहरी विकास मन्त्रालयका अनुसार अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने भएको छ । शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने बताइएको छ ।
०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परीक्षणका रूपमा खुला गरिएको थियो । गएको मंसिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो ।
धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तै, अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।