
महिनावारी भएपछि छाउगोठ (महिनावारी भएकी महिला बस्न छुट्टै बनाइएको गोठ)मा सुतेकी कञ्चनपुरकी एक महिलाको सर्पले डस्दा ज्यान गएको छ । महिनावारी भएपछि शुक्रबार छाउगोठमा सुतिरहेका वेला राति १० बजे कृष्णपुर नगरपालिका– १, निगालीकी २८ वर्षीया कमला आउजी दमाईंलाई सर्पले टोकेको थियो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार राति उनको मृत्यु भएको कञ्चनपुर प्रहरीका डिएसपी सागर बोहराले बताए । आफ्नो छाउगोठ वर्षामा चुहिने भएकाले कमला घरनजिकै जेठानीको छाउगोठमा सुत्न गएकी थिइन् । उनका छिमेकी सुुचित्र शाहले महिनावारी भएपछि घरनजिकैको कच्ची छाउगोठमा सुतेका वेला कमलालाई सर्पले डसेको बताए । हालै मात्र कमलाले पक्की घर बनाएकी थिइन् । ‘कमलालाई सर्पले डसेपछि हामीले अटो खोजेर उपचारका लागि अस्पताल पठायौँ । उपचारका क्रममा शनिबार राति नै निधन भयो,’ शाहले भने ।
कमलालाई राति अस्पताल पुर्याइएकामा अवस्था नाजुक बन्दै गएपछि चिकित्सकले शुक्रबार राति २ बजे आइसियू राख्नुपर्ने बताएका थिए । तर, बिरामीको चापका कारण आइसियू खाली थिएन । झन्डै डेढ घण्टापछि कमलालाई आइसियूमा राखेर उपचार सुरु गरिए पनि उनको ज्यान जोगिएन ।
कमलाका श्रीमान् पुरन रोजगारीको सिलसिलामा भारतमा छन् । उनी छोरा पढाउन भन्दै गत वैशाखमा मात्र घर फर्किएकी थिइन् । घरमा छोराहरू १५ वर्षीय आयुष, १२ वर्षीय आशिष र ५ वर्षीय आदित्य छन् । कमलाको शव अहिले सेती प्रादेशिक अस्पतालमै राखिएको छ । श्रीमान् भारतबाट फर्किएपछि अन्त्येष्टि गरिने आफन्तले जनाएका छन् ।
कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले गाउँमा रहेका छाउगोठ भत्काउनेदेखि सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्दागर्दै छाउगोठमै रहेकी कमलाको ज्यान गएको घटनाले थप चिन्तित बनाएको बताए । ‘हामीले निरन्तर गाउँमा छाउगोठ भत्काउने, महिला, धामी–झाँक्रीसँग पनि निरन्तर छलफल सचेतना कार्यक्रम सञ्चालन गर्यौँ,’ उनले भने, ‘अहिले यो दुःखद घटना भयो, हामी थप प्रभावकारी कार्यक्रम चलाउँछौँ ।’
कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्युकोे घटनाले अझै पनि समाज अघि बढ्नुको साटो पछाडि परिरहेको प्रस्ट रहेको बताए । उनले छाउगोठ भत्काएर मात्रै नहुने, हरेक मानिसको मानसिकतामा सकारात्मक सोच, विचार र भावनाको विकास गराउनुपर्ने सुझाव दिइन् । प्रहरी प्रवक्ता डिएसपी बोहराले घटनालाई गम्भीर रूपमा लिएको अब यस्ता घटना दोहोरिन नदिन सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने बताए ।
कृष्णपुर नगरपालिकाले नगरभरिका छाउगोठ भत्काउन १५ दिने सूचना जारी गरेको छ । मेयर हेमराज ओझाले नौवटै वडालाई पत्र काट्दै छाउगोठ भत्काउन भनिएको र अटेर गरिए नगरपालिकाले भत्काउने बताए । नगरपालिकाले आइतबार मात्र कमला दमाईं बसेको छाउगोठसहितका दुई गोठ भत्काएको छ । ‘हामीले यसअघि पनि गोठ भत्काएका थियौँ । फेरि बनाएछन्,’ उनले भने, ‘अब कडाइका साथ लाग्छौँ । छाउगोठ नभत्काउने नागरिकको पालिकाबाट दिने सुविधा रोक्छौँ, जरिवाना गछौँ ।’ १ साउनदेखि नगरपालिकाले प्रहरीसहितको अभियान टोली बनाएर नै थप छाउगोठ भत्काउनेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
१५ दिनभित्र नगरभरिका छाउगोठ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन, मेयर हेमराज ओझा भन्छन्–
छाउगोठ नभत्काउने नागरिकको पालिकाबाट दिने सुविधा रोक्छौँ, जरिवाना गर्छौँ
कृष्णपुर नगरपालिकाले नगरभरिका छाउगोठ भत्काउन १५ दिने सूचना जारी गरेको छ । मेयर हेमराज ओझाले नौवटै वडालाई पत्र काट्दै छाउगोठ भत्काउन भनिएको र अटेरी भए नगरपालिकाले भत्काउने बताए । नगरपालिकाले आइतबार मात्र कमला दमाईं बसेको छाउगोठसहितका दुई गोठ भत्काएको छ । ‘हामीले यसअघि पनि गोठ भत्काएका थियौँ । फेरि बनाएछन्,’ उनले भने, ‘अब कडाइका साथ लाग्छौँ । छाउगोठ नभत्काउने नागरिकको पालिकाबाट दिने सुविधा रोक्छौँ, जरिवाना गर्छौँ ।’
छाउगोठ घटनाबारे संसद् र सरकारको ध्यानाकर्षण गराउँदै आइतबार प्रतिनिधिसभाको विशेष समयमा सांसद तारा लामा तामाङले भने– छाउपडी सामाजिक प्रश्न मात्र होइन, मानव अधिकारको पनि उल्लंघन, सबै मिलेर यो कुरीतिको अन्त्य गरौँ
मेरो गृहजिल्ला कञ्चनपुरमा २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको वेला सर्पले डसेर मृत्यु भएको खबर अत्यन्त दुःखद र पीडादायी छ । कञ्चनपुरमा त यस्तो छ भने अछाम, बाजुरा, डोटी र बझाङलगायत पहाडी जिल्लाका केही स्थान र केही समुदायमा यो प्रथा अझै गम्भीर रूपमा विद्यमान छ । जहाँ महिनावारी भएका महिलालाई आज पनि गोठ, खुला छाप्रोमा जनावरसँगै, भय र अपमानको वातावरणमा, बिच्छी, फट्यांग्राजस्ता जन्तुको डरमा मात्र होइन, कहिलेकाहीँ मानव हिंसाको पनि सिकार बन्नुपरेको छ । यो केवल सामाजिक प्रश्न होइन, मानव अधिकारको पनि गम्भीर उल्लंघन हो । छाउप्रथासम्बन्धी भएको कानुन पूर्ण रूपमा लागू गरी सबै मिलेर यो कुरीति अन्त्य गरौँ ।