मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format २३:५२:oo
Read Time : < 1 मिनेट
समाचार

मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:५२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मधेश प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौला उपचार केन्द्र स्थापना गरिने  घोषणा गरेका छन्। 

आइतबार नारायणी अस्पतालमा जडान भएका स्तन क्यान्सर जाँच गर्ने (म्यामोग्राम) र निःसन्तान उपचारका लागि सेवा विस्तार भएको ‘आइयुआई युनिट’को आज यहाँ शुभारम्भ गर्दै मन्त्री पौडेलले मधेश प्रदेशमा मिर्गौला रोगीको ‘डाइलाइसिस’ गर्नेको संख्या अत्यधिक रहेकाले विशिष्टकृत उपचार केन्द्रको आवश्यकता औँल्याए।  

‘आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा विशिष्टकृत सेवासहितको मिर्गौलाको उपचार केन्द्र बनाउन बजेट समावेश गरेका छौँ,’  उनले भने, ‘अस्पताल कहाँ स्थापना गर्ने भन्ने विषयमा टुंगाे लागिसकेको छैन । त्यसका लागि गृहकार्य भइरहेको छ । रौतहट, सप्तरी वा अन्य कुनै जिल्लामा हुन सक्छ ।’

मन्त्री पौडेलले सरकारले हाल १३ हजारभन्दा धेरै मिर्गौलारोगीको डाइलाइसिस  गर्दै  आइरहेको जानकारी दिए । ‘अहिले मिर्गौला रोगका बिरामी भयावहजस्तै भइरहेको छ । आठ हजारभन्दा धेरै त वैदेशिक रोजगारीबाट फर्किएका नेपालीमा देखिएको छ,’  उनले भने, ‘तीमध्ये चार हजारभन्दा धेरै मधेश प्रदेशका जनताले मिर्गौलाको डाइलाइसिस गर्दै आइरहेकाले मधेश प्रदेशमा मिर्गौलाको उपचार गर्ने विशिष्टकृत अस्पताल स्थापना गर्न लागेका हौँ ।’ 

मन्त्री पौडेलले नारायणी अस्पतालमा छिट्टै ‘क्याथल्याब’ सञ्चालन गर्नुपर्ने  बताए ।   नारायणी अस्पताललाई एउटा मन्त्री वा मेडिकल सुपरिटेन्डेन्टले मात्रै राम्रो गराउन नसक्ने भएकाले यहाँका राजनीतिक दल समाजसेवी, सबै तह र तप्काका व्यक्तित्वको हातमालोले मात्रै व्यवस्थित गराउन सकिने उनले उल्लेख  गरे । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालले पछिल्लो समय विभिन्न उपचार थप गर्दै आइरहेको जानकारी दिए। ‘आजदेखि हामीले निःसन्तान दम्पतीका लागि निःशुल्क रूपमा आइयुआई युनिटको शुभारम्भ गरेका छौँ,’ उनले भने, ‘यसले ठुलो सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’