
मधेश प्रदेशको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटलाई लिएर देखिएको गतिरोध हटाउन उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरिएको छ ।
बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउँदै विपक्षी दलहरूले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए । त्यसपछि बजेटमा भएको त्रुटि सच्याउन सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
तर, कार्यदलमा मन्त्रीलाई सदस्यमा राखिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाउँदै शनिबार बसेको सभाको बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि सभा स्थगित गरी सर्वदलीय बैठक राखेका थिए ।
बैठकमा उपसभामुखको संयोजकत्वमा नयाँ कार्यदल गठन गर्ने सहमति भएपछि सभाको गतिरोध हटेको छ ।कार्यदलमा कांग्रेसबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेबाट शारदादेवी थापा, जनमतबाट चन्दन सिंह, शम्भु साह र लोसपाकी रमिता प्रधान छन् ।
जसपा नेपालबाट रामआशिष यादव, एकीकृत समाजवादीबाट कनिष पटेल, माओवादीबाट जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी विमला अन्सारी, राप्रपा नेपालकी कञ्चन बिच्छा र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिलादेवी सिंह छन् । कार्यदललाई आइतबार नै छानबिन गरी सोमबार प्रतिवेदन प्रदेश सभामा पेस गर्ने समय दिइएको छ ।