मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फेरि चुलियो राप्रपाको अन्तर्संघर्ष

अनुशासन समितिको मनोनयन र प्रवक्ता हटाउने निर्णयविरुद्ध असन्तुष्ट पक्ष निर्वाचन आयोग जाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन विभाग प्रमुखमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गर्ने र सगुन लावतीलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेपछि विवाद चुलिएको छ । यसअघि अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदी र प्रवक्ताबाट हटाइएका लावतीले अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध आइतबार निर्वाचन आयोग जाने तयारी गरेका छन् । 

राजसंस्था पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजकका रूपमा ४ चैतदेखि सक्रिय भएका सुवेदीले त्यही दिन पार्टीबाट अलग रहेको घोषणा गरेका थिए । सुवेदीले पार्टी छाडिनसकेको र अध्यक्ष लिङ्देनले मनोमानी निर्णय गरेको असन्तुष्ट पक्षको आरोप छ । असन्तुष्ट समूहहरूको संयोजन पार्टी महामन्त्री डा. धवलशमशेर राणाले गरेका छन् । उनले शनिबार राप्रपाका नेता किशोर कार्कीको जन्मदिन मनाउने अवसरमा ५० जना नेता कार्यकर्ता बोलाएर पार्टी नेतृत्वको आलोचना गरेका थिए । ‘भेला बोलाइएको होइन, किशोर कार्कीको जन्मदिनमा नेताहरू भेला भएका हुन् । अध्यक्षको निर्णयलाई चुनौती दिन हामी आइतबार निर्वाचन आयोगमा जाँदै छौँ,’ असन्तुष्ट समूहका एक नेताले नयाँ पत्रिकासँग भने । 

सुवेदीको समर्थनमा र विवादास्पद व्यापारी दुर्गा प्रसाईंको अगुवाइमा १५ चैतमा तीनकुनेमा भएको घटनापछि पार्टीको छविमा धब्बा लागेको अध्यक्ष लिङ्देन पक्षको निष्कर्ष छ । जिम्मेवारीबाट अलग भएका सुवेदीले विगतमा राप्रपाको अनुशासन विभागको नेतृत्व गरेका थिए । उनले पार्टीबाट अलग भएर जनआन्दोलन समितिको संयोजक भएसँगै रिक्त भएको पदमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । 

‘रिक्त रहेको विभागमा मनोनीत गर्ने कार्य भएको हो । विगतमा जुन प्रक्रियाबाट यो काम हुन्थ्यो, अध्यक्षले त्यही प्रक्रियाबाट विभागीय प्रमुख मनोनीत गर्नुभएको हो,’ श्रेष्ठले भने, ‘पार्टीको पदाधिकारी (प्रवक्ता)को नियुक्ति र हटाउने प्रक्रिया पनि विधानले अध्यक्षलाई दिएको अख्तियारअनुसार भएको हो । चियाको कपमा आँधी ल्याउनुको अर्थ छैन ।’

राप्रपा अध्यक्ष लिङ्देनले सुवेदी नेतृत्वमा गठित ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को गठनलाई राप्रपा कमजोर पार्ने षड्यन्त्रका रूपमा लिँदै आएका थिए । राप्रपा महामन्त्री एवं सांसद राणाले अध्यक्ष लिङ्देनविरुद्ध पार्टीमा आवाज उठाउँदै आएका छन् । पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री कुन्ति शाहीलगायतले उनलाई साथ दिएका छन् । राणाले पछिल्लोपटक राप्रपा नेपालका अध्यक्ष कमल थापासँग निकटता बढाएको लिङ्देन पक्षको आरोप छ । पार्टीको अस्तित्व समाप्त पार्न खोज्ने प्रवृत्तिसँग सम्झौता नगर्ने लिङ्देनले बताउँदै आएका छन् । असन्तुष्ट नेताहरूले भने लिङ्देनले पार्टीमा एकलौटी निर्णय गरेको, विगतमा सहयोग गरेका सहकर्मीहरूलाई उपेक्षा गरेको आरोप लगाउँदै आएका छन् ।