
कोशी प्रदेश खेलकुद विकास बोर्ड पूर्वफुटबलर धीरेन्द्र शाक्यसहित राष्ट्रपति रनिङसिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रियस्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने १०१ जनालाई सम्मान गरेको छ । शनिबार बोर्डले विराटनगरमा सम्मान र प्रोत्साहन गरेको हो । सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले १५औँ राष्ट्रपति रनिङसिल्डमा रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही नौ हजार नगद सहित सम्मानपत्र र कांस्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही ६ हजार र कांस्य पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही पाँच हजारसहित सम्मान गरेको जानकारी दिए । बस्नेतले अन्तरप्रदेश भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही १२ हजारसहित सम्मानपत्र, रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही नौ हजारसहित सम्मानपत्र र कांस्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही पाँच हजारसहित सम्मानपत्र प्रदान गरेको बताएका छन् ।
त्यस्तै, अन्तरप्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिताको कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच हजारसहित सम्मान पत्र, मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा रजत पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही ६ हजार सहित सम्मानपत्र र प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा कांस्य पदक प्राप्त टोलीका सदस्यलाई जनही पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको बस्नेतले जानकारी दिएका हुन् ।
१० विशिष्ट खेलकुद व्यक्तित्वलाई सम्मान
कोशी प्रदेशमा स्थायी बसोवास गरी विभिन्न खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउनुभएका १० जना खेलकुद व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । सम्मान पाउनेहरूमा शाक्यसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी, पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी राजकुमार प्रधान, अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षक महेशप्रसाद रिजाल र पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी लवभक्त श्रेष्ठ रहनुभएको थियो ।
पूर्वअन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी जितेन्द्र चौधरी, अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक किरण लामा तामाङ, कोशी प्रदेश भलिबल संघका महासचिव लेखनाथ शर्मा पराजुली र शारीरिक सुगठन खेलसम्बद्ध प्रशिक्षकद्वय राम दाहाल र नवीनविक्रम शाहलाई समेत सम्मान गरिएको सदस्यसचिव बस्नेतले जानकारी दिनुभयो । सम्मानित सबैलाई सम्मानपत्रसहित जनही १० हजार नगद प्रदान गरिएको थियो । सम्मानित खेलाडीलगायतका व्यक्तित्वलाई नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राई, बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, सदस्यसचिव बस्नेतलगायतले हस्तान्तरण गरेका थिए ।