
नेपाल–भारत सिमास्थित सर्लाहीको दशगजा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेको ठुलो परिमाणमा नेपाली रुपैयाँसहित एक पुरुषलाई पक्राउ गरेको छ। शुक्रबार मलङ्गवा नगरपालिका–२, का ३६ वर्षीय इन्द्रजित प्रसाद साहलाई स्रोत नखुलेको १४ लाख रुपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारत तर्फबाट बीआर ३० के ४००९ नम्वरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका साहलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त परिणाममा नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।
बरामद रकम कस्को र कहाँबाट आएको भन्ने नखुले पनि हुण्डी कारोवारमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ। सर्लाहीसहित तराईका नेपाल–भारत सिमावर्ती क्षेत्रबाट यसरी बारम्बार हुण्डी कारोवारमा प्रयोग भएका स्रोत खुलेको रकम बरामद हुँदै आएको छ । यसरी अबैध रकम ओसारपसारमा संलग्नलाई प्रहरीले बारम्बार पक्राउ गर्ने गरेको भएपनि मुख्य व्यक्ती पहिचान हुन सकेको छैन ।