मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format ११:५७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

मधेशमा खडेरी, एकतिहाइ मात्रै रोपाइँ

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format ११:५७:oo
  • गत वर्ष अन्यत्रको तुलनामा कम वर्षा भएको मधेशमा अहिले पनि खासै पानी परेको छैन । मौसमविद्ले आगामी दिनमा पनि मधेशमा धेरै पानी नपर्ने अनुमान गरेपछि मन्त्रिपरिषद् निर्णयबाटै प्रदेशलाई सुक्खा क्षेत्र घोषणा, वर्षा कुर्दा कुर्दै धानको ब्याड सुक्न थालेपछि किसान निराश

धान राप्ने समय घर्कन लाग्दासमेत पर्याप्त पानी नपरेपछि बिहीबार साँझ बसेको मधेशको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मनसुनको मुख्य सिजनमा वर्षा नहुँदा धान रोपाइँ गर्न समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सुक्खा मौसमका कारण चिन्तित किसानलाई सम्बोधन गर्ने गरी विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, कृषिक्षेत्रमा क्रियाशील दातृ निकायलाई पनि आवश्यक सहयोग गर्न मधेशले आह्वान गरेको छ । मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगन्जसहित प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि ट्यांकरसहितका माध्यम परिचालन गर्ने निर्णयसमेत गरेको छ । खानेपानी संकट समाधान गर्न संघीय खानेपानी मन्त्रालयसँग सहयोग पनि मागिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले बुधबार वीरगन्ज पुगेर अनुगमनसमेत गरेका छन् । खासगरी वीरगन्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकामा खानेपानीको संकट गहिरिएको छ । पर्सा मन्त्री यादवको गृहजिल्लासमेत हो । उनी पर्सा १ बाट निर्वाचित भएका हुन् ।

वीरगन्ज पुगेर उनले साढे चार अर्ब लागतमा बृहत खानेपानी आयोजना निर्माण भइरहेकाले दीर्घकालीन रूपमै समस्या समाधानका लागि सरकारी पहल जारी रहेको आश्वासन दिएका थिए । मुहान सुकेर पानी नआएपछि महानगरपालिले वडाहरूमा ट्यांकरमार्फत पानी वितरण गर्न थालेको छ ।

मैजारो गर्ने वेलामा रोपाइँको चिन्ता 
तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये अहिलेसम्म एक लाख २५ हजार ८८८.६ हेक्टरमा मात्र धान खेती लागेको छ 
असार अन्तिममा आइपुग्दा किसानहरू मैजारोको तयारीमा हुन्छन्, तर मधेशमा भने भर्खर एकतिहाइ मात्रै रोपाइँ सकिएको छ ।

कृषि विकास निर्देशनालय, मधेशका अनुसार शुक्रबारसम्म प्रदेशभर ३३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जबकि, यो अवधिमा ७०–८० प्रतिशतसम्म रोपाइँ सकिनुपर्ने मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डलले जानकारी दिए ।

‘अहिलेसम्म मधेशभरिमा ७५ देखि ८० प्रतिशत रोपाइँ सम्पन्न हुनुपर्नेमा ३३ प्रतिशत मात्रै सम्पन्न हुनु भनेको खडेरीका संकेत हो,’ उनले भने । चार–पाँच दिनभित्र पर्याप्त वर्षा भए किसानले रोपाइँ सम्पन्न गर्न सक्ने सम्भावना, तर त्यसपछि पनि वर्षात् नभए प्रदेशको उत्पादनमा ठुलो गिरावट आउने उनले बताए ।

कृषि विकास निर्देशनालयका अनुसार मधेश प्रदेशमा पाँच लाख ४२ हजार पाँच सय ८०.७८ हेक्टर खेतीयोग्य जमिन रहेकोमा तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धानखेती हुन्छ । तर, असार सकिन लाग्दा एक लाख २५ हजार आठ सय ८८.६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । 

निर्देशनालयका वरिष्ठ बागबानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार मधेशको पर्सामा सबैभन्दा बढी धान रोपाइँ भएको छ भने सप्तरीमा सबैभन्दा कम रोपाइँ भएको छ । पर्सामा ३९ हजार सात सय ३१ हेक्टरमध्ये ७३.३४ प्रतिशत अर्थात् २९ हजार १३८ हेक्टरमा र सप्तरीमा ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा अहिले १६ प्रतिशत अर्थात् १० हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।

रौतहटमा ३५ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ४५ प्रतिशत अर्थात् १५ हजार सात सय ५० हेक्टर, बारामा ४६ हजार २० हेक्टरमा रोपाइँ हुँदै आएकोमा ४० प्रतिशत अर्थात् १८ हजार चार सय आठ हेक्टरमा मात्र रोपाइँ भएको छ । सर्लाहीमा ४३ हजार ६ सय ९४ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा अहिलेसम्म ४० प्रतिशत, सिराहामा ५४ हजार हेक्टरमध्ये अहिलेसम्म २९ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । 

त्यसैगरी, धनुषामा ४३ हजार सात सय हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा २५ प्रतिशत र महोत्तरीमा भने ६८ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा १८ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको बागवानी विकास अधिकृत यादवले जानकारी दिए । वर्षा नहुँदा रोपाइँको पर्खाइमा रहेका मधेशका किसानहरू निराश हुन थालेका छन् । 

कहिले पर्छ पर्याप्त पानी ?
जल तथा मौसम विज्ञान विभागले मनसुनभर नै मधेशमा कम वर्षा हुने यसअघि गर्ने गरेको थियो प्रक्षेपण

मधेशमा वर्षा हुन मनसुनी रेखा सरदरमा हुनुपर्छ, तर यसपालि सरदरभन्दा तल नै छ : मीनकुमार अर्याल, वरिष्ठ मौसमविद् 

मनसुन सुरु भएको डेढ महिनामा मुलुकका अन्य भागमा सरदर वर्षा भए पनि मधेशसँगै पूर्वी तराईमा भने सुक्खा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जनकपुर, सिमरा, विराटनगर, धरानलगायतका स्टेसनमा सरदरभन्दा आधा मात्र वर्षा भएको छ । मधेशमा सुरुदेखि नै कम वर्षा भएको छ । गत वर्ष पनि मधेशमा तुलनात्मक रूपले कम वर्षा भएको थियो ।

विभागले मनसुन सिजनभर नै मधेशमा सदरदरभन्दा कम वर्षाको प्रक्षेपण यसअघि नै गरेको थियो । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले पश्चिम नेपालमा मनसुनी रेखा सरदर हाराहारी रहे पनि मध्य र पूर्वी नेपालमा दक्षिणतिर हुँदा पर्याप्त पानी नपरेको बताए । ‘पश्चिमतिर बादल र स्थानीय वायुले पनि सहयोग गरिरहेको छ । अन्य पहाडी क्षेत्रमा स्थानीय प्रणालीका कारण आइसोलेटेड वर्षा भइरहेको छ,’ उनले भने, ‘मधेशमा वर्षा हुन मनसुनी रेखा सरदरमा हुनुपर्छ । तर, यसपालि सरदरभन्दा तल नै छ ।’ 

तराई क्षेत्रमा मनसुनी वर्षा हुनका लागि कम्तीमा महाभारत क्षेत्रमा बादल पुग्नुपर्छ, महाभारतको पहाडी क्षेत्रमा बादल ठोक्किएर तराई क्षेत्रमा मनसुनी वर्षा हुन्छ । तर, मनसुनी प्रणाली कमजोर छ । ‘दिउँसो चर्काे गर्मी छ । तलाउ, पोखरी तातेर बादल बनी पहाडमा ठोक्किएर आसोलेटेड वर्षा भइरहेको हो । तर, तराईको आकाशमा त ठोक्किनका लागि पहाड हुँदैन । सानो सिस्टम माथिल्लो रेन्जसम्म पुग्दैन । मनसुनीयाममा तराईमा पानी पर्नका लागि न्यून चापीय रेखा नै उत्तरतिर सर्नुपर्छ,’ अर्यालले भने ।

पछिल्ला वर्षहरूमा वर्षाको टे«न्ड नै फेरिएको उनको भनाइ छ । चैत–वैशाखमा आकाश गड्याङगुडुङ भएर पानी पर्ने गरेको छ ।