
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोटको समूह विभाजन गरेको छ । आइसिसीले सार्वजनिक गरेको ‘ड्र’अनुसार नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा बलियो कुवेत र जापान छन् । छनोट खेल आगामी ८ देखि १७ अक्टोबरसम्म ओमानमा हुनेछ । यसैगरी, समूह ‘ए’मा मलेसिया, कतार र युएई छन् ।
समूह ‘सी’मा आयोजक ओमानले पपुवा न्युगिनी र सामोसाविरुद्ध खेल्नेछ । प्रतियोगितामा सहभागी नौवटा टोलीलाई आइसिसीले तीन समूहमा विभाजन गरेको हो । एसिया तथा प्रशान्त क्षेत्रको छनोटमा युएईले माथिल्लो वरीयता पाएको छ । आइसिसीको टी–२० पुरुष वरीयतामा युएई १४औँ स्थानमा छ । युएईको १८३ रेटिङ छ । दोस्रो वरीयतामा नेपाल रहेको छ । नेपाल १८औँ स्थानमा छ । नेपालले १६८ रेटिङ पाएको छ ।
ओमान २०औँ स्थानमा रहँदा नेपालको समूहमा रहेको जापानको वरीयता ४३औँ छ । पछिल्लो साता जारी वरीयतामा जापानले एक स्थान सुधार गरेको हो । नेपालले सन् २०१४ र ०२४ को विश्वकप खेलेको थियो । तेस्रोपटक छनोट हुने लक्ष्यका साथ नेपालले ओमान प्रस्थान गर्नुअघि वेस्ट इन्डिजको सिनियर टोलीसँग टी–२० आई खेल्नेछ । नेपाली टोलीले अस्ट्रेलियामा आयोजना हुने टी–२० सिरिजमा प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नयाँ प्रतिद्वन्द्वी जापान
नेपालले नयाँ प्रतिद्वन्द्वीका रूपमा जापानलाई पाएको छ । अहिलेसम्म जापान र नेपालबिच खेल भएको छैन । जापानले सन् १९८९ मा आइसिसीको सदस्यता प्राप्त गरेको थियो । आइसिसीमा जापानले इस्ट एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गरेको छ । जापानले आफ्नो पहिलो टी–२० आई खेल सन् २०२२ मा इन्डोनेसियाविरुद्ध खेलेको थियो ।
अहिलेसम्म जापानले ४५ वटा टी–२० आई खेलेको छ । जसमा ३१ जित र १३ खेलमा हार सामना गरेको छ । यो सिजनमा जापानले पाँच खेलमा चारमा जित र एकमा हार निकालेको छ । सन् २०२३ मा जापानले पहिलोपटक टी–२० आई विश्वकपअन्तर्गत एसिया छनोट खेलेको थियो । यसैगरी, नेपालले आफ्नो समूहको दोस्रो प्रतिद्वन्द्वी कुवेतसँग तीनपटक टी–२० आईमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले दुई तथा कुवेतले एक खेलमा जित निकालेका छन् । पछिल्लो दुई खेलमा कुवतेमाथि जित हात पारेको छ । १३ अप्रिल २०२५ मा नेपालले पहिलोपटक कुवेतविरुद्ध खेलेको थियो ।
शीर्ष तीन टोली विश्वकपमा छनोट हुने
आइसिसीले बनाएको टी–२० विश्वकप फम्र्याटअनुसार समूहगत चरणमा सहभागी सबै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् । प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई टोली ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ का टोलीलाई एउटै समूहमा राखेर प्रतिस्पर्धा गराइनेछ । त्यसपछि अंकतालिकाको माथिल्लो तीन स्थानमा रहने टोली आगामी विश्वकपमा छनोट हुनेछन् । १०औँ टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकपमा २० वटा टोलीले सहभागिता जनाउनेछन् ।
त्यसमध्ये १३ टोलीको टुंगो लागिसकेको छ । भारत र श्रीलंकाले आयोजकका रूपमा विश्वकप खेल्नेछन् । अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज गत संस्करणमा गरेको प्रदर्शनका आधारमा विश्वकपमा छानिएका हुन् । ३० जुन २०२४ सम्मको आइसिसी वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले आगामी विश्वकपमा स्थान बनाएका छन् । क्यानडा भने अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो । अब एसिया तथा प्रशान्त क्षेत्रबाट तीन, अफ्रिका क्षेत्रबाट दुई र युरोपेली क्षेत्रबाट दुई टोली विश्वकपमा छनोट हुन बाँकी छ ।