
स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउने समयसीमा घर्किएपछि काठमाडौं महानगरपालिकाले बल्ल नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । विभिन्न विवादबिच बस्न नसकेको महानगरको नीति तथा कार्यक्रम र बजेटलक्षित कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजे बस्दै छ । पछिल्लो सात महिनायता महानगरको कार्यपालिका बैठक बस्न सकेको थिएन । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायतका कारण बजेट रोकिएको थिए । अब भने सबैसँग सहमति भएर शुक्रबार कार्यपालिका बैठक राखिएको हो ।
मेयर बालेन्द्र शाह बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार सबै सहमति भएपछि बजेट ल्याउन लागिएको हो । बजेट र नीति तथा कार्यक्रम समन्वयबाटै तय भएको छ । ‘सबैलाई पत्राचार भइसकेको छ, विभिन्न कारणवश बैठक बस्न सकेको थिएन, त्यसमा विभिन्न कठिनाइ पनि थिए,’ उनले भने, ‘अहिले समन्वय भएर नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउँदै छौँ, सबै कार्यपालिका सदस्यज्यूहरूलाई पत्र पठाइसकेका छौँ ।’ बैठकमा प्रमुख प्रशासकीय अधिकृतदेखि सबै जनप्रतिनिधि सहभागी हुने बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार १० असारभित्र नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने हुन्छ । तर, काठमाडौं महानगरपालिकाका विवादका कारण बजेट पेस ल्याउन सकेको छैन । महानगरमा पछिल्लोपटक १४ पुसमा महानगरको १६औँ नगर सभा बैठक बसेको थियो । हरेक महिना बस्नुपर्ने बैठक विवादका कारण बस्न सकेको थिएन । महानगरका अनुसार महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्बहाराहारी बजेट पेस गर्ने तयारी गरेको छ ।