१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
२o८२ असार २१ शनिबार o९:३९:oo
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

‘आम’ खाँदाका ती दिन र यी दिन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार o९:३९:oo

‘आम’ (आँप)को मौसम आयो । मलाई भने हरेक वर्ष यो वेला आफ्नो बाल्यकालीन जीवनको स्मृति–दंश हुने गर्छ । जब ‘आम’ मा मजुरा लाग्छ र त्यसको सुवासले वातावरण नै मोहक बनाउँछ म उवेलाका स्मृतिका गल्लीमा विचरण गर्न थाल्छु । हजुरआमा भन्ने गर्नुहुन्थ्यो– माघ गजरे, फागुन मजरे आ चैतमे लागे टिकुला । हुन्थ्यो पनि त्यस्तै । हो, बरु एक वर्ष बिराएर आम मजरिन्थ्यो र टिकुला लाग्थ्यो । 

अहिले सुनसरी जिल्लामा पर्ने हरिनगरा बजारको पूर्व–दख्खिनमा रहेको आठ–दस परिवारको त्यो पहडिया टोलमा जन्मेर हुर्केको म होस सम्हालेदेखि नै ‘आम’ भनेपछि हुरुक्कै हुन्थेँ । पूर्व सिनवारीमा हाम्रो धनहर खेत थियो आ त्यसकै छेउमा भिठ जग्गा थियो जहाँ एउटा बाँसबिट्टी र लहरै पच्छिमबाट पूर्वतिर ६–७ वटा आमगाछी थिए । हो, त्यहीँ फल्थे सिनुरिया, सुपडियाजस्ता बिज्जु आम आ किसनभोग र केलवाजस्ता कलमी आम । सिनुरिया आम डमाहा हुनथाल्दा ललियाउँथ्यो र बिस्तारै सिन्दुरजस्तै हुन्थ्यो । त्यसैले त्यसलाई सिनुरिया भन्थे । सुपडिया त सुपारीजत्रो सानो हुन्थ्यो । यी आमहरू भेट्नु काटेर बाल्टिनमा डुबाएर राखेपछि मात्र खान पाइन्थ्यो । हामी तीन भाइ म, निर्मल र शम्भु पछबरिया घरको ओस्रामा बस्थ्यौँ र दे दनादन गर्न थाल्थ्यौँ । जसको अगाडि बोक्रा र आँठीको थुप्रो ठुलो हुन्थ्यो उसैले जित्थ्यो । किसनभोग त काँचैमा गुलियो हुन्थ्यो । रह्यो केलवा आम त्यसको टुप्पोपट्टि सानो दुलो पारेर चुस्नुको मजा नै अर्को हुन्थ्यो । गुदी जम्मै सुडेर्नुको आनन्द नै अर्कै ।

पछि बाबाले हाम्रै घरको दरबज्जामा मालदह, बम्बई र कलकत्तिया आम लगाउनुभयो । हामी तीन भाइको काम गर्मीका वेला ती बिरुवामा रोज्जै पानी पटाउनुहुन्थ्यो । हेर्दाहेर्दै ती आम गाछी बढेर ठूला भए र फल्न पनि थाले । अनि त झन् हाम्रो चैन भइहाल्यो । केटाकेटीमा हामीले आम ताछेर खाएको सम्झना छैन । हो, पाहुना आउनुभयो भने उहाँहरूलाई ताछेर र कुड्का पारेर दिने चलन थियो र खान सजिलो होस् भनेर सिन्का पनि साथै दिइन्थ्यो । ती बेला आमको बहुउपयोग र त्यसका परिकार सम्झेर अहिले पनि मुख रसाउछ । हावाहुन्डरीले झारेको टिकुलाको खट्टाइ, सिलौटामा पिसेर बनाएको थेबे, आँठीमा जालो पसेपछि बनाइने फक्का अचार, अनि चिनी या गुड मिसाएर पकाएको खटमिठ्ी । अनि आम एकैपटक पाकेर फसेल भएपछि हजुरामाले जाँगर चलाएर बनाउनु हुने अम्मोठ । आमको सिजन सकिएपछि त्यही अम्मोठलाई तातो दुधमा मिसाएर खाँदा आउने मज्जाको के बयान गर्नु । 

तर, आमको आनन्दका ती दिन धेरै टिकेनन् । मेरै पढाइका लागि बाबाले हरिनगराको सबै जायजेथा बेचबाच गरेर विराटनगर सर्नु भो । अनि त उही हटियाबाट वेलावेला किनेर ल्याएको दुई–चार सेर आम खानुपर्ने अवस्था आयो । तर, बाबा र हजुरआमाले विराटनगरकै बारीमा पनि आम लगाइहाल्नुभयो । हाम्री हजुरआमाको एउटा बानी अनौठो थियो । भातसँग आम खाएपछि आफूलाई मिठो लागेको आमको आँठी बारीमा रोप्नुहुन्थ्यो र बिहानबेलुकै खाएपछि त्यहीँ चुठ्नुहुन्थ्यो । केही दिन मै त्यो आँठीबाट आम टुसाइहाल्थ्यो र अलिक ठुलो भएपछि मैबाट त्यसको मूल जरो काट्न लाउनुहुन्थ्यो । म भन्थेँ– हजुरामा जरो काट्दा आम मर्दैन ? तर, उहाँ भन्नुहुन्थ्यो– धत् लाटा यसो गर्दा यो आधा कलमी हुन्छ र छिट्टै फल्छ । हुन्थ्यो पनि त्यस्तै । 

आमको मोहले मलाई केही वर्ष सानिमाको घर सप्तरीको बैरबासम्म पनि पुर्‍याएको छ । विराटनगरबाट जोगबनी हुँदै भारतको बथनाहा त्यहाँबाट भीमनगर अनि सप्तकोशीको दुई भंगालो नाउ तरेर पारी पुगेपछि तटबन्धको छेवैछेउ उत्तरतिर हिँडेर महुली पार गरेर बैरवा पुग्थेँ । अनि सुरु हुन्थ्यो मेरो आम खुवाई– बिहान उठ्यो आम, भातसँग आम, दिउँसो जलखाई आम । बैरवाली अर्जेलका पचासौँ बडे–बडे गाछी भएका दख्खिनबरिया आ उत्तरबरिया फुलबाडी । सबै कलमी आम । बम्बई, मालदह, कृष्णभोग, कलकतिया, गुलाबखास,जलमरै, भदैया र फर्से आमका यतिविधि जात देखेर म त छक्कै पर्थें । जसको हबेलीमा गए पनि स्वागतचाहिँ उही आमले नै हुने । त्यहाँ महिना दिन मडिया मारेर गलगिद्द हुने गरी आम खाएपछि फर्कने वेला सानिमाले आफ्ना दिदी–भिनाजूका लागि भनेर आमकै सनेस पठाउनुहुन्थ्यो । तर, आमको यो सुख पनि धेरै टिकेन । किनकि केही वर्षपछि नै सानिमा सप्तरी छाडेर सुनसरीको खनार बसाइ सर्नुभो । अनि खिस्सा खत्तम भइहाल्यो ।

तर, अजिंगरको आहार दैवले पुर्‍याउँछ भन्छन् नि । भयो त्यस्तै । हजुरआमाले रोप्नुभएका आमका गाछी बिस्तारै बढ्न थाले र फल्न थाले । बम्बई र माल्दहका अर्ध कलमी र सिनुरिया आम । म जब भेट्नु काटेको आम बाल्टिनमा एकछिन डुबाएर राखेपछि खान थाल्थेँ सरु जिल्ल पर्थिन् र भन्थिन्– हन कति खान सकेको ? कसरी पच्छ ? म मुसुमुसु हाँस्थेँ र खाने रफ्तार बढाउँदै जान्थेँ । 

तर, जब हामी तीन भाइ छुट्टियौँ र बाबाले आर्जन गरेको त्यै डिहीमा अलग–अलग घर बनायौँ त्यसपछि न ती आम गाछी बाँकी रहे न त खाने त्यो उत्साह । अब त जम्मा एउटा आम गाछी छ आम्रपालीको । रोपेको अर्को वर्षदेखि निरन्तर फलिरहेको त्यसको फल पनि एक्लै खान मन लाग्दैन । टोलका आफन्त र इष्टमित्रसँग बाँडेर खाइन्छ । कारण यो होइन कि आम खाने चाह पूरै हरायो । हो कति मात्रै भने, यतिवेला बोर्डर लाइनमा रहेको सुगरले बोर्डर नाघ्छ कि भन्ने डर । रह्यो बजारको आमको कुरा, तिनलाई पकाउन यति न कारबाइड हाल्छन् कि तिनको स्वाद नै हुनुपर्नेजस्तो हुँदैन । परिणामस्वरूप तिनलाई टाढैबाट टाटा बाइबाई गर्छु ।

आजकाल न खट्टाई बन्छन् र फक्का अचार । अम्मोठ त झन् कता हरायो, हरायो । हो । आमको थेबे र खट्टीमिठीसम्मको चलनचाहिँ अझ पनि जीवित नै छ । हराएको परिकार सम्झ्यो बस्यो । यस्तै रहेछ जिन्दगी ।