
नेपालले एसीसी यू १६ इस्ट जोन कपको उपाधि जितेको छ। शनिबार मलेसियामा भएको फाइनलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले लगातार उपाधि जितेको हो । यस अघि नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा सबै विकेटगुमाउँदैए एक सय १४ रनको लक्ष्य प्रस्तुत गर्यो । विपिन शर्माको कप्तानीमा रहेको नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित निकालेको हो।नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले। सिवन्स बजगाईले २० रन बनाए । यसअघि सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए। उनले ९० भन्दा धेरै बल खेलेका थिए। रिहान नाइकले १५ रन बनाए।
अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए। त्यस्तै सुशिल बहादुर रावलले पनि तीन विकेट लिए। शुभम खनालले दुई तथा कप्तान बिपिन प्रसाद शर्माले एक विकेट लिएका थिए।