
बागमती प्रदेश सभाको बैठक फेरि एकपटक सारिएको छ । चालू आर्थिक वर्षको बजेटमाथि छलफलका लागि बोलाइएको बैठक दलहरूबिच सहमति नजुटेपछि पुन: सारिएको हो ।
यसअघि बिहीबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश दिउँसो २ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख भुवनकुमार पाठकले बैठक सार्ने निर्णय गरेका हुन् । यसअघि असार १२ गतेका लागि तय गरिएको बैठकसमेत स्थगित गरी पछि सारिएको थियो ।
प्रदेश सभामा बजेटमाथिको छलफल र सम्भावित संशोधनका विषयमा महत्त्वपूर्ण बहस हुने कार्यसूची तय गरिए पनि दलहरूबिच बजेटका विषयमा अझै सहमति बन्न सकेको छैन ।
प्रदेश सभा बैठक सञ्चालनका लागि मुख्यमन्त्री बहादुरसिंह लामा, सभामुख पाठकसहित प्रमुख दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन् । बजेटमा देखिएको असहमति र दलहरूबिचको समन्वय अभावले बैठक पटक–पटक सारिँदै आएको हो ।