१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format २१:५४:oo
Read Time : > 2 मिनेट
फिचर

पूर्वविद्यार्थीको मायाले बन्द स्कुल बन्यो ‘सुपरटप’

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format २१:५४:oo

विराटनगर महानगरपालिका–२, शंकरपुरस्थित ऐतिहासिक जनता नमूना माविलाई पूर्वविद्यार्थीको समूहले बन्द हुने अवस्थाबाट जोगाउँदै तीन वर्षमै ‘सुपरटप’ बनाइदिएका छन् ।

कुनै वेला विराटनगर सहरकै नमुना विद्यालयका रूपमा नाम कमाएको यो विद्यालय केही समययता भ्रष्टाचार, बेथिति, राजनीतिक गुटबन्दीले बन्द हुने अवस्थामा पुगिसकेको थियो । विद्यालयको यस्तो अवस्था देखेपछि यसलाई सुधार्न पूर्वविद्यार्थी सक्रिय बने । जसको प्रतिफल देखिएको छ । अहिले यो विद्यालय फेरि शैक्षिक र भौतिक सुधारमा अव्बल सावित भएको छ । 

विस २००९ मा स्थापित यस विद्यालयमा आन्तरिक कलह र बेथितिका कारण विद्यार्थी संख्या घटेर ७२ जनामा पुगेका थिए । महानगरले समेत समस्या समाधान गर्न नसकेपछि एक किलोमिटर उत्तरको पोखरिया माविसँग गाँभ्ने प्रक्रिया अघि बढिसकेको थियो । तर, यसै विद्यालयमा पढेका पूर्व विद्यार्थीहरूले आफ्नो विद्यालय बन्द हुने अवस्थामा पुगेको थाहा पाएपछि यसलाई रोक्न समूह बनाएर व्यवस्थापन समितिको नेतृत्व लिए र विद्यालय रुपान्तरण अभियान थाले । परिणामस्वरूप तीन वर्षमै बन्द हुन लागेको विद्यालय अहिले शैक्षिक र भौतिक दुवै हिसाबले ‘सुपरटप’ विद्यालयका रूपमा चिनिन सफल भयो । 

प्रधानाध्यापक चिन्तामणि रिजालका अनुसार तीन वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पूर्व विद्यार्थी मनोज विक्रम शाह  छन् । उनको नेतृत्वमा पूर्व विद्यार्थीहरूको सक्रियतामा विद्यालयमा भौतिक सुधार मात्रै नभई शैक्षिक सुधारमा समेत कायापलट भएको छ । पहिले एसएलसीमा एकजनालाई पनि उत्तिर्ण गराउन नसकेको भनेर बदनामी कमाएको विद्यालयले यसपटकको एसइई परीक्षामा ३१ मध्ये ३१ सबै विद्यार्थी उत्तीर्ण भएका छन् । 

‘बन्द भइसकेको स्कुललाई पूर्वविद्यार्थीहरूको समूहले पुनर्जीवन मात्र दिएको छैन, सुपरटप नै बनाइदिएको छ । पहिले ७२ मा सीमित विद्यार्थी संख्या अहिले सात सय पुगेको छ,’ प्रअ रिजालले फुरुंग हुँदै भने । उनी स्वयं पनि शिक्षासेवी हुन् र निरन्तर राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा शिक्षा सुधारका विषयमा लेखिरहन्छन् । 

आन्तरिक कलहले बदनाम जनता नमुना माविको अवस्था सुधार गर्न राष्ट्रिय विद्यालय सुधार अभियानले पनि पहल थालेको थियो । तर, महानगर र तत्काल विद्यालयका प्रअ विजय रौनियारले असहयोग गरेपछि सुधार अभियान अगाडि बढ्न सकेन । विद्यालयमा पूर्वविद्यार्थीहरूको समूहले सक्रियता देखाउन थालेपछि विद्यालय चमत्कारिक रूपले सुधार हुन थाल्यो । ‘निरन्तर निगरानी, अभिभावक र सरोकारवालाहरूसँग निरन्तर संवाद नै विद्यालय सुधारको मूल मन्त्र हो, ’ व्यवस्थापन समिति अध्यक्ष तथा पूर्वविद्यार्थी मनोजविक्रम शाह भन्छन्। 

रुग्ण जनता नमूना मावि अब स्मार्ट स्कुल 

पहिले जनता नमुना माविको भवनसमेत रुग्ण थियो । पूर्वविद्यार्थीहरूको सक्रियतामै रोटरी क्लब विराटनगरमार्फत ४० हजार अमेरिकी डलर (५६ लाख रुपैयाँ) सहयोग जुटाउन सफल भई विद्यालयलाई स्मार्ट स्कुलमा रूपान्तरण गरिएको छ।

पहिले हिलो र दुर्गन्धित विद्यालय अहिले आकर्षक र सफा भएको छ । विद्यालयमा स्मार्ट बोर्डसहितको आफ्नै आधुनिक सभाहल, सबै कक्षामा पंखा, छात्र–छात्राका लागि छुट्टाछुट्टै स्मार्ट शौचालय, छात्राहरूकै लागि सुरक्षित प्याड चेन्ज कक्ष, आधुनिक विज्ञान तथा कम्प्युटर ल्याब, बालमैत्री कक्ष र विद्यालयपरिसरमै बालमैत्री उद्यान निर्माण भइसकेका छन् । विद्यालयका कक्षा कोठा र सभाहलको नामाकरण सबै राष्ट्रिय विभूतिहरूका नाममा राखिएको छ । 

विद्यालयबाहिर डिजिटल बोर्ड राख्ने, पंखा, खानेपानीको ट्यांकी जडान गर्ने, पुस्तकालय बनाउने र निःशुल्क कोचिङ खर्च व्यवस्थापन गर्ने मात्र नभई, गणित, अंग्रेजीलगायत विषयमा पूर्वविद्यार्थीहरू स्वयंले नियमित पढाउने गरेका छन् ।

पूर्वविद्यार्थी तथा स्नातकोत्तर क्याम्पसका पूर्वप्रमुख डा. मनोज राउतले विद्यालयको अवस्था देखेर निःशुल्क गणित र एसइई कोचिङसमेत सञ्चालन गरेका छन् । ०४६ साल ब्याचका विद्यार्थीले पंखा र पानी ट्यांकी जडान गरेका छन् । ०५२ साल ब्याचका विद्यार्थीले डिजिटल बोर्ड राखेका छन् । ०५१ साल ब्याचका विद्यार्थीसमेत रहेका व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाहको नेतृत्वमा विद्यालयले अतिरिक्त स्रोत जुटाउँदै शिक्षक र अभिभावकसँग निरन्तर संवादमार्फत सुधार अभियानलाई अघि बढाइएको छ।
हाल जनता माविमा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा मात्र, कक्षा ६ देखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सक्रिय युवा उद्यमी मनोजविक्रम शाह भन्छन्, ‘बदनामीले बन्द भइसकेको विद्यालयलाई माया, असल प्रधानाध्यापक र शिक्षकहरूको सामूहिक प्रयासले सुपरटप बनाउन सफल भयौँ, यो कुनै एकजनाको प्रयास मात्र होइन ।’