
सफ्टवेयर निर्माणसम्बन्धी कम्पनी चलाएर नेपालमा ठगी र क्रिप्टोकारोबारमा संलग्न ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–४, बालिफलस्थित दमकल चोक र काठमाडौं १३ चागलबाट ६ चिनियाँ र ४६ नेपालीलाई पक्राउ गरेको हो।
अनलाइन डेटिङ एप चलाएर उनीहरूले ठगी गर्दै आएको सिआइबीले जनाएको छ। उनीहरूको मुख्य कार्यालय काठमाडौं महानगरपालिका १३ चागलमा रहेको र त्यहाँ पनि सिआइबीले छापा हानेको छ। उनीहरूले सोसियल सफ्टवेयर डेभलपमेन्ट प्रालि कम्पनी दर्ता गरी बिजनेस भिसामा नेपाल बस्दै आएका थिए।
पक्राउ परेका चिनियाँ उपर अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र अन्य ४६ नेपालीको हकमा अनुसन्धान जारी रहेको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए।
सिआइबीले सातवटा ल्यापटप र ४६ वटा मोबाइल पनि बरामद गरेको छ।