
धनकुटाको पाख्रीबास नगरपालिका– ५, रूपटारमा एक युवाको शव फेला परेको छ। भोजपुर जिल्ला अरुण गाउँपालिका– ७ का २७ वर्षीय सागर थापा पाख्रीबास नगरपालिका– ५ रूपटारस्थित खेतबारीमा घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए ।
असार १६ गते झापास्थित मामलीघरबाट आफ्नो घर फर्किएका थापा घर नपुगेपछि परिवारले खोजतलास गरेकाे थियाे । उनको खोजतलास गर्ने क्रममा असार १७ गते पाख्रीबास नगरपालिका– ५, रूपटारस्थित खेतबारीमा घोप्टो परेको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ।
उनको शवलाई जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ । आज शवको पोस्टमार्टम गरिनेछ । मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।