
रोपाइँको लागि एक हल गोरु तयार थियो। रोपाहार धान रोप्न व्यस्त देखिन्थे। एकजना गोरु जोत्दै थिए भने अरू महिला–पुरुष सबै धान रोप्दै थिए। तर, खेतका गरामा होइन, हिलाम्य सडकमा।
अछाम सदरमुकाम मंगलसेनको बिच बजारमा मंगलबार यस्तै दृश्य देखियो। देशव्यापी किसानहरू खेतमा रोपाइँ गरिरहेका वेला मंगलसेनका स्थानीयले भने हिलाम्य बनेको मंगलसेनको क्याम्पस रोडमा थुप्रिएको दलदलमा धान रोपे। उनीहरूले वर्षौदेखि हिलाम्य हुने यो सडक मर्मतमा ध्यान नदिएको भन्दै सांकेतिक विरोध जनाउन सडकमै रोपाइँ गरेको बताएका छन्।
तर, मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले भने आफूसँगको व्यक्तिगत प्रतिशोधका कारण सीमित व्यक्तिले यस्तो गरेको प्रतिक्रिया दिएका छन्। ‘यो हाल निर्माण भइरहेको सडक हो,’ उनले भने, ‘यस्तो वेला पानी परेपछि हिलो हुनु स्वाभाविक हो। यही मौका छोपी मविरुद्ध प्रतिशोध साध्न यस्तो गरियो।’
यो सडक पिच गर्ने योजनाका साथ हाल निर्माण कार्य चलिरहेको उनले बताए। ‘विरोधका नाममा विरोध गरेर केही हुन्न। यो सडक आठ मिटर चौडाइको बनाउनुपर्छ भन्दा मलाई मार्न खोज्ने पनि यहीँका मान्छे हुन्। अहिले आफ्नो स्वार्थ पूर्ति भएन भनेर तिललाई पहाड बनाउन जरुरी छैन,’ उनले भने।
सडक सुधार गरौँ भन्दा एक इन्च जग्गा दिन नमान्नेहरुले नै अहिले ‘हलो अड्काएर गोरु चुट्ने’ व्यवहार देखाइरहेका टिप्पणी गरे। २०६५ सालदेखि नै मंगलसेन बजार क्षेत्रको सडक सुधार अभियानमा लागेर आफूले व्यक्तिगत रूपमा पनि बजार क्षेत्रको मुहार फेरेको उनको भनाइ छ।
त्यो वेलादेखि नै यहाँका स्थानीयले साथ नदिएको बोहराले दु:खेसो पोखे। अहिले ६६ लाख ठेक्कामा मंगलसेनको बजारदेखि नाइकेको टुडाआसपासको सडकको निर्माण कार्य चलिरहेको उनले बताए।
तर, ठेक्का स्वीकृत भएको रकम कम परेको भन्दै निर्माण व्यवसायीले रकम बढाउनुपर्ने माग राखेको र त्यसबारे छलफल भइरहेको उनको भनाइ छ। सडक स्तरोन्नति गरेर मंगलसेन बजारलाई सुन्दर बनाउने सपना छिट्टै साकार गरिने उनले बताए।