
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले सन् २०३० सम्म पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा सोमबार आयोजित एक कार्यक्रममा उनले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जनमार्फत सन् २०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य राखिएको बताए । हरित रोजगारी, जलवायु–स्मार्ट उद्यम र इकोसिस्टम निर्माण गर्न नेपाल कटिबद्ध रहेको उनले बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित ‘उत्थानशीलका लागि परामर्श : जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान–नेपाल संवाद’ कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले नेपाल र सम्पूर्ण हिन्दुकुश हिमाली क्षेत्रका लागि समावेशी, दिगो र लचिलो भविष्य निर्माण गर्ने साझेदारीमा मिलेर लगानी गर्नुपर्ने बताए । उनले साझा अनुभव र आपसी शिक्षाले पहुँच लाभ साझेदारी र चक्रीय अर्थव्यवस्थामा सहकार्यका लागि नयाँ ढोका खोल्नेसमेत बताए ।