
नेपाल अपराजित रहँदै एसिसी मेन्स यू–१६ इस्ट जोन कपको सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । लिग चरणमा नेपालले यसअघि सिंगापुर, जापान तथा इन्डाेनेसियालाई हराएको थियो । नेपाल चारै खेलमा विजयी भएको हो । नेपाल रहेको समूहबाट सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा नाै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । भुटानका एकजना रिटायर्टहर्ट भएका थिए ।
भुटानलाई सस्तैमा समेट्ने क्रममा विपिन शर्माले आफ्नो १० ओभरमा मात्र सात रन दिएर चार विकेट लिए । सुयोग भट्टराई र सचिन भट्टले दुई–दुई विकेट झारे । यसअघि पहिला ब्याटिङ गरेको नेपालले रौनक श्रीवास्तवले १६८ रनको मद्दतमा निर्धारित ओभरमा पाँच विकेट गुमाएर ३५८ रन बनाएको थियो । रौनकले १३२ बलमा १६ चौका र पाँच छक्कासहित १६८ रनको पारी खेले । जोए थापाले ६१ र शिवांश बजगाईंले ५४ रन बनाए । भुटानका लागि सञ्जय दोर्जेले तीन र तेन्जिन लोडेले एक विकेट लिए । नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । सहभागी राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।