
भिजिट भिसाको दुरुपयोग र मानव तस्करी प्रकरणमा उच्चस्तरीय संसदीय वा न्यायिक छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १३ जेठदेखि निरन्तर आन्दोलनमा रहेको रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखकमाथि प्रश्नैप्रश्न उठाएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा रास्वपाका गणेश पराजुलीले भिजिट भिसाको आवरणमा गरिएको मानव तस्करी अपराध लुकाउन संदिग्ध गतिविधि गरेको भन्दै गृहमन्त्री लेखकमाथि प्रश्न उठाए ।
‘जेठ ७ गते अख्तियारले आफ्नो निकै लामो अन्डर कभर अप्रेसनपछि कारबाही प्रक्रिया अगाडि बढाउँदा अध्यागमन प्रमुखलाई बचाउने प्रकरणमा र अनुसन्धान अगाडि बढाउने डिआइजीको सरुवा प्रकरणमा तपाईंले देखाएको व्यवहार शंकाको घेराभित्र आउँदैन ? तपाईंकै सचिवालयका सदस्यहरू यो अपराध कर्ममा जोडिएको तथ्य बाहिरिँदै गर्दा यो अपराध कर्ममा राजनीतिक संरक्षण छ भनेर शंका गर्न सकिँदैन ?’ उनले सोधे । पराजुलीले आफूलाई चोख्याउन कर्मचारीको कर्मकाण्डी समिति बनाएको हो भनेर पनि प्रश्न गरे । ‘मानव तस्करीको पाटोमा अनुसन्धान नै गर्न नपाउने गरी नौबुँदे कार्यादेश बनाएर बाँदरको पुच्छर लौरो न हतियारजस्तो समिति बनाउने र आफ्नै कर्मचारी राखेर यो समिति बनाउदै गर्दा मानव तस्करीसँग जोडिएको जाललाई बचाउन कि आफूलाई अनुसन्धानको घेराबाट फुत्काउन गरिएको हो गृहमन्त्रीज्यू ?’ उनको प्रश्न थियो ।
राप्रपा सांसद रोशन कार्कीले मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदै छ गृहमन्त्रीज्यू भनेर सोधिन् । बिपीले नेताको ज्यादती सहेर बस्ने कार्यकर्ताहरू कि त चरम अवसरवादी हुन् कि त दास हुन् भनेको स्मरण गराउँदै कार्कीले गृहमन्त्रीलाई सोधिन्, ‘तपाईं कुन वर्गमा पर्नुहुन्छ ?’ गृहमन्त्रीलाई आफूले सोझो र साँचो ठानेको, तर उनी चम्बु बाठो रहेको उल्लेख गर्दै भनिन्, ‘उहाँले त यस्तो समिति बनाउनुभयो कि त्यो समितिबाट उहाँलाई त फुत्किनुलाई धेरै सजिलोे भयो र कमाईंलाई पनि बचाउनलाई धेरै सजिलो भयो ।’
कार्कीले अहिले जोगिए भनेर ढुक्क नहुन चेतावनी दिइन्, ‘गृहमन्त्रीज्यूलाई म के भन्न चाहन्छु भने धेरै फुर्ति नदेखाउनुस् । किनभने त्यो एक दिन यस्तो समय आउँछ तपाईं पनि त्यो पल्लोछेउबाट वल्लोछेउ आउनुहुन्छ, त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ? तपाईंले भिजिट भिसाको नाममा दैनिक जुन असुली गर्नुभएको छ, ५० लाखदेखि एक करोडसम्म नेपाली जनताहरूलाई बेच्नुभएको नेपाली जनता जसको रेमिटेन्समा हामी गर्व गर्छौँ, अर्थमन्त्रीज्यू गर्व गर्नुहुन्छ हामीलाई यति रेमिटेन्स आयो भनेर, तिनीहरूलाई भिजिट भिसाको नाममा तस्करी गरेर बेच्न पाइन्छ ? के यो तपाईंको नैतिकताले दिन्छ ?’ उनले सोधिन् । कार्कीले नैतिकताको कुरा गर्ने गृहमन्त्रीसँग नैतिकता छ भनेर पनि सोधिन् । ‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् र छानबिनलाई सघाउ पुर्याउनुस् । निष्पक्ष रूपबाट छानबिन गर्नलाई तपाईं सरकारलाई सहयोग गर्नुस् । नेपाली जनताहरूलाई यी भिजिट भिसाको प्रकरणबाट मुक्त गर्नलाई सहयोग गर्नुस्,’ उनले भनिन् ।
कांग्रेसका रामहरि खतिवडाले भिजिट भिसामा मान्छे पठाउने सुमेरु टुर्स एन्ड ट्राभल्समाथि छानबिनको माग गरे । ‘सुमेरु टुर्स एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाउमा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा त्यहाँबाट लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा सांसद किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ र तिनै मान्छेहरू यदाकता संसद्मा र उफ्रिने काम पनि भएको सुन्नमा आएको छ । यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अगाडि बढाइयोस्,’ उनले भने ।
भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले बैठक बहिष्कार गरिरहेका छन् । शनिबार रास्वपाले बेल घेराउ र नाराबाजीसहित प्रधानमन्त्रीले बोल्ने वेला बैठक बहिष्कार गरेको थियो भने राप्रपाका सांसद आफू बोलिसकेर बहिष्कार भन्दै बाहिर निस्केका थिए ।
पिएसओ दुरुपयोगबारे प्रश्न, गृहमन्त्रीसँग जवाफ माग
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सुरक्षाका नाममा कानुनविपरीत पिएसओको दुरुपयोग गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा ज्वालाले प्रहरी र सशस्त्रका धेरै सुरक्षाकर्मीलाई कानुनविपरीत पूर्वमन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीको सुरक्षामा खटाउनु गम्भीर र बेठिक भएको बताए । ‘ती सुरक्षाकर्मी कुन–कुन व्यक्तिका सुरक्षाका निम्ति खटाइएको छ, त्यसको विवरण गृहमन्त्रीले यो सदनमा जानकारी गराउनुपर्छ,’ उनले भने ।
विपक्षीको अवरोधबिच नागरिकता विधेयक पारित
विपक्षीको अवरोधका बिच प्रतिनिधिसभाले नेपाल नागरिकता (दोस्रो) विधेयक बहुमतले पारित गरेको छ । बजेट संवैधानिक दायित्व भएकाले अवरोधका बिच जबर्जस्ती बैठक चलाउनुपरेको तर्क गर्दै आएका सभामुख देवराज घिमिरेले सरकारको चाहनामा शनिबार बिदाको दिन बैठक राखी अन्य सामान्य विधेयकलाई पनि कार्यसूचीमा राखेर पारित गराएका हुन् । सदनमा अवरोध रहेका वेला सामान्य विधेयक कार्यसूचीमा नराख्न संसद् सचिवालयका कर्मचारी र केही दलका सचेतकहरूले सुझाव पनि दिएका थिए । तर, सभामुख घिमिरेले सरकारको चाहनाअनुसार सामान्य विधेयक पनि कार्यसूचीमा राखी पारित गराइदिए । यसले संसद्मा प्रतिपक्षीको आवाजलाई कमजोर र निरर्थक बनाउने चिन्ता सरोकारवालाको छ । विधेयकमा नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्था छ । ‘आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्न यो विधेयक आएको छ । नागरिकतासम्बन्धी विषयमा विभिन्न समयमा अदालतबाट भएका फैसलालाई यो विधेयकमार्फत कार्यान्वयनमा ल्याउन खोजिएको छ,’ गृहमन्त्री रमेश लेखकले भने । वैदेशिक रोजगारमा गएका महिलाहरूले विदेशमा सन्तान जन्माउने, तर नेपाल फर्किँदा त्यस्ता सन्तानले नागरिकताविहीन हुनुपर्ने अवस्था पनि विधेयकले अन्त्य गर्ने उनको भनाइ छ । विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोवास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था छ ।
यस्तै, प्रतिनिधिसभाले बहुमतले बजेट पारित गरेको छ । शनिबार आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधिसभाबाट वार्षिक आय र व्ययको अनुमान (बजेट) पारित भएको हो । यसअघि प्रतिनिधिसभाले १० असारमा विनियोजन विधेयक पारित गरेको थियो । १५ जेठमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य प्रस्तुत गर्दै विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाबाट पारित भएका तीनै विधेयक राष्ट्रिय सभामा गएर पारित भएपछि बजेट कानुनी रूपमा साउनदेखि कार्यान्वयनमा आउनेछ ।