१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
Invalid date format १२:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४४:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । मंगलबार राति फोन गरेर मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा मागेका हुन् । मन्त्री चौधरीले अहिलेसम्म राजीनामा भने दिएका छैनन् । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्रीले मन्त्री चौधरीको राजीनामा मागेको बुझिएको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार खप्डमा कार्यकारी निर्देशक नियुक्ति र मन्त्रालयको बजेट निर्माणको विषयमा मुख्यमन्त्री शाह मन्त्री चौधरीसँग रुष्ट बनेका हुन् ।

मुख्यमन्त्री शाहले मंगलबार राति फोन गरेर राजीनामा मागेको मन्त्री चौधरीले बताए । ‘मुख्यमन्त्रीले मलाई जानकारी नदिएर कार्यकारी निर्देशक किन नियुक्त गर्नुभो, राजीनामा दिनोस् भनेर भन्नुभएको थियो,’ मन्त्री चौधरीले भने, ‘मैले पहिलेको सहमतिअनुसार नियुक्त गरेको हो, राजीनामा दिन्न, बर्खास्त गर्नोस् भनेँ ।’ यसअघि नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन मन्त्री हुँदा बैजथान धाम पर्यटन विकास समितिमा एमाले निकट र रामारोशन पर्यटन विकास समितिमा कांग्रेस निकट कार्यकारी नियुक्त भएकाले खप्तडमा नागरिक उन्मुक्तिले लिने भद्र समझदारी भएको मन्त्री चौधरीले दावी गरे ।

मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट खप्तडको कार्यकारी निर्देशकमा डोटीका खेमराज जोशीलाई गत १९ जेठमा नियुक्त गरेका थिए। कार्यकारी निर्देशकले उपसचिवस्तरको सेवासुविधा पाउने व्यवस्था छ। उक्त नियुक्तिबारे मुख्यमन्त्रीसँग कुनै सल्लाह नभएको उनको सचिवालयका एक सदस्यले बताए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट निर्माणका क्रममा आर्थिक चलखेल भएको भन्दै मुख्यमन्त्री रुष्ट रहेका बताइएको छ ।

मन्त्री चौधरीले मुख्यमन्त्रीले राजीनामा मागेको विषयमा पार्टीमा छलफल गर्न लागिएको बताए । काँग्रेस संसदीय दलका नेता शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । नागरिक उन्मुक्तिबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीको आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवाद सार्वजनिक भएपछि उनले गत फागुनमा पदबाट राजीनामा दिएका थिए । रामेश्वर गत ४ जेठमा मन्त्री नियुक्त भएका थिए ।