१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
त्रिवि क्रिकेट मैदानमा दुई वर्षअघि नेपाल र युएईबिचको खेल हेर्दै घरेलु दर्शक । फाइल तस्बिर
२o८२ असार ५ बिहीबार o९:५१:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टेस्ट राष्ट्र बन्न ‘एभरेस्ट चढिरहेको’ नेपाल

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार o९:५१:oo
  • १७ देखि २० जुलाईसम्म सिंगापुरमा हुने आइसिसीको साधारणसभामा टेस्ट राष्ट्रको मान्यताका लागि प्रस्ताव राख्ने क्यानका सचिव पारस खड्काले बताए

एक क्रिकेटरको चाहना पाँच दिनसम्म चल्ने टेस्ट खेल्नु हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को पूर्णकालीन सदस्य बन्दा हरेक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेलाडीले निरन्तर अवसर पाउँछन् । यही सपनाका साथ नेपाली क्रिकेटर र र नेपाल क्रिकेट संघ (क्यान)ले अगाडि बढिरहेका छन् । नेपालले टेस्ट मान्यता पाउन अझै धेरै कार्य गर्नु बाँकी नै छ । तर, नेपालले स्वदेशी वा विदेशी भूमिमा टेस्ट खेलिरहेको सपना देख्नु नराम्रो होइन ।

त्यसलाई पूरा गर्न त्यहीअनुसार तयारी गर्नुपर्छ । नेपालले संगठित रूपमा घरेलु प्रतियोगिता तथा मुलुकभरि विभिन्न कार्यक्रममार्फत टेस्ट मान्यता पाउन मिहिनेत गरिरहेको छ । क्यानले सिंगापुरमा हुने आइसिसीको वार्षिक साधारण सभामा टेस्ट मान्यता प्राप्तिसहितको विभिन्न योजना राख्ने तयारी गरेको क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले बिबिसीलाई बताएका छन् । नेपालले १७ देखि २० जुलाईसम्म सिंगापुरमा हुने आइसिसीको वार्षिक साधारणसभामा अनौपचारिक रूपमा आफ्ना कुरा राख्ने तयारी गरेको उनले खुलासा गरेका छन् ।

पारसले यस कार्यलाई ‘एभरेष्ट चढ्ने’ भनेका छन् । ‘हामी टेस्ट राष्ट्र बन्ने अभियानमा छौँ, यसका लागि मिहिनेत पनि गरिरहेका छौँ, हामीले ‘सगरमाथा चढ्ने’ अभियान भनेका छौँ,’ खड्काले बिबिसीका पत्रकार टिमोन्थ अब्राहमसँगको अन्तर्वार्तामा भनेका छन्, ‘संघले एक दिन लड्र्स मैदानमा इंग्ल्यान्डसँग टेस्ट खेल्न पाउने सपना बोकेको छ ।’ आइसिसीले अहिलेसम्म केवल १२ राष्ट्रलाई मात्र टेस्ट मान्यता प्रदान गरेको छ । आइसिसीले पछिल्लोपटक आयरल्यान्ड र अफगानिस्तानलाई मात्र यो मान्यता दिएको थियो ।

सन् २०१७ को आइसिसीको कार्यसमितिको बैठकले आयरल्यान्ड र अफगानिस्तानलाई टेस्ट हैसियत प्रदान गरेको थियो । आइसिसीले नौ वर्षयता अन्य एसोसिएट एकदिवसीय हैसियत बनाएका राष्ट्रलाई टेस्ट मान्यता दिएको छैन । क्यानको लक्ष्य नै १३औँ टेस्ट राष्ट्र बन्ने हो । नेपालले टेस्ट हैसियत प्राप्तिका लागि लगातार लामो समय तयारी गरिरहेको र अन्तर्राष्ट्रिय लेभलमा पनि उत्कृष्ट नतिजा निकालेको दाबी क्यानका सचिव खड्काले गरेका छन् । ‘नेपालले टेस्ट हैसियत पाउन धेरै अगाडिदेखि मिहिनेत गरिरहेको छ,’ उनले बिबिसिसँग भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रदर्शन राम्रो हुँदै गइरहेको छ ।’

अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट नतिजा 
आइसिसीले भविष्यमा आइसिसी विश्वकप लिग २ मा सहभागी राष्ट्रमध्येलाई टेस्ट मान्यता दिन सक्छ । विश्वकप लिग २ मा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, अमेरिका, युएई, नामिबिया, ओमान र क्यानडाले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष तीन स्थानमा रहने टोली सीधै एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् । अहिले अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । विश्वकप लिग २ को पाँचौँ स्थानमा रहने राष्ट्रले चार वर्षको एकदिवसीय मान्यता रक्षा गर्नेछ । नेपालको योजना एकदिवसीय मान्यता रक्षा गर्नुका साथै पुनः एकपटक शीर्ष तीनमा रहेर एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नु हो । क्यानका सचिव खड्काले नेपालको बारेमा जानकारहरूले टेस्ट राष्ट्र बन्नका लागि मिहिनेत गरेको थाहा भएको बताएका छन् । 

‘यदि तपाईंले नेपाली क्रिकेटबारेमा जानकार हुनुहुन्छ, पक्कै थाहा होला, नेपालले बिस्तारै एभरेस्ट चुचुरोमा पुग्न पाइला अगाडि बढाइरहेको छ,’ खड्काले भने, ‘टेस्ट खेल्नु हामी सबैका सपना हो, तर यो सफलता चुम्न समय लाग्छ, लामो संघर्षपछि एक आरोहीले कुनै न कुनै दिन सगरमाथाको चुचुरोमा पुग्छन्, नेपालले पनि आफ्नो लक्ष्य यसरी नै प्राप्त गर्नेछ ।’ उनले संघर्षविना कुनै सफलता हात पार्न नसकिने बताए । ‘एभरेस्ट (सगरमाथा)को शिखरमा पुग्न त्यति सहज छैन, यसमा धेरै जोखिम छ, विभिन्न किसिमको समस्या पार गरेर शिखरमा आरोही पुग्छन्, नेपालले पनि यस्तै अवधारणा अपनाएर टेस्ट मान्यता पाउन बाटो पछ्याउँदै गइरहेको छ,’ खड्काले भने, ‘जब यो सफलता प्राप्त हुन्छ, त्यसवेला नेपाल आइसिसीको पूर्णकालीन सदस्य हुनेछ ।’ नेपालमा लामो फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटप्रति गहिरो रुचि रहेको उनले बताए । 

सन् १९८८ मा आइसिसीमा प्रवेश
राणाकालीन समयमै नेपालमा क्रिकेट खेल सुरु भएको थियो । तर, नेपालले आइसिसी र एसिसीको मान्यता पाउन धेरै समय लगायो । नेपाल सन् १९८८ मा आइसिसीको सदस्यका रूपमा प्रवेश गरेको थियो ।

यसको ११ वर्षपछि १९९९ मा नेपाल आइसिसीको एसोसिएट सदस्यता बन्यो । सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेल्यो । सन् २०२४ मा दोस्रोपटक नेपालले टी–२० विश्वकपमा सहभागिता जनायो । सन् २०१७ मा नेपालले एकदिवसीयको हैसियत प्राप्त गरेको हो । नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय फर्म्याटमा डेब्यु गरेको थियो । त्यसयता नेपालले ७७ एकदिवसीय खेलमा ३८ जित र ३६ हारको सामना गरेको छ । नेपालले सन् २०१४ मा हङकङसँग पहिलो टी–२० आई खेलेको थियो । नेपालले हालै मात्र १०१ अन्तर्राष्ट्रिय टी–२० आई पूरा गरेको छ । नेपालले टी–२० आईमा ५६ जित र ३९ हारको सामना गरेको छ । 

एकदिवसीय र टी–२० फर्म्याटमा नेपालको नतिजा उत्कृष्ट रहे पनि टेस्ट मान्यता हात पार्न आइसिसीको मापदण्ड पूरा गर्नुपर्छ । शासन प्रणाली, खेल प्रदर्शन, सहभागिता, घरेलु ढाँचा, पूर्वाधार र विकास कार्यक्रमआदि कार्य नियमित रूपमा पूरा गर्नुपर्ने आइसिसीले जनाएको छ । क्यानले गत वर्ष नेपाली प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टी–२० लिग सुरु गरेको थियो । टेस्ट तयारीस्वरूप बहुदिने घरेलु रेड बल प्रतियोगितासमेत सुरु गरिएको छ । यसैगरी, क्यानले पुरुषमा जस्तै महिलाका लागि पनि केन्द्रीय सम्झौता दिँदै आएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा केही रंगशाला निर्माण तथा स्तरोन्नतिका लागि बजेटसमेत प्रदान गरेको छ ।

अन्तिम क्षणसम्म लड्ने नेपाली क्रिकेटर
आइसिसीले नेपाली क्रिकेटरलाई अन्तिम समयसम्म लड्ने बहादुर क्रिकेटका रूपमा लिने गर्छ । अमेरिका र वेस्ट इन्डिजले गत वर्ष संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपको नतिजापछि आइसिसीले नेपाललाई यस्तो ट्याग दिएको हो । गत वर्ष टी–२० विश्वकपअन्तर्गत टेस्ट मान्यताप्राप्त गरेको राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध लगभग जितनजिक पुगेको थियो । तर, नेपाल दक्षिण अफ्रिकासँग झिनो एक रनले पराजित भयो । दक्षिण अफ्रिका प्रतियोगिताको उपविजेता बन्यो ।

अहिले नयाँ प्रशिक्षक स्टुवार्ट लको प्रशिक्षणमा रहेको नेपाल २०२६ को टी–२० विश्वकप र २०२७ को एकदिवसीय विश्वकपका लागि छनोटको तयारीमा छ । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले अन्तिम बलसम्म पनि हार मानेन । यसै प्रदर्शनका आधारमा नेपाललाई ‘कार्डियाक किड्स’को नाम दिइएको छ । जसको अर्थ अन्तिम बलसम्मको लडाइँ र अप्रत्याशित जित नेपाली क्रिकेटको चिनारी बनेको छ ।