
आज विहान परेको भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको दुम्किबास र दाउन्नेमा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्ने र दुम्किबासमा आज विहानैदेखि सडक अवरुद्ध भएको छ ।
नवलपुरका आसपासको क्षेत्रमा आज विहान ४ बजेतिर भारी वर्षा भएको थियो । दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन पुरिएको छ भने दाउन्नेको पूर्वी खण्डमा बाटो चिप्लो र हिलो भएर सवारी साधन उक्लन सकेको छैन जसले गर्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाए पनि आज दिनभर बाटो खुल्ने सम्भावना कम रहेको छ। यता जल तथा मौसम विज्ञान विभागले विहान सूचना जारी गरी नवलपुरको डण्डा, कावासोती आसपासको क्षेत्रमा भारी वर्षा भएको र अझै वर्षा हुने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
त्यसैगरी वर्षाका कारण नवलपुरको कावासोतीको ठाउँठाउँमा विद्युत पोल ढल्न जाँदा आज विहानैदेखि कावासोती आसपासका क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण कावासोती शाखाले सूचना जारी गरी जनाएको छ ।