१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
शान्ति तामाङ काठमाडाैं
२o८२ जेठ ३१ शनिबार o८:o९:oo
Read Time : > 6 मिनेट
फिचर प्रिन्ट संस्करण

गुमनाम अपि !

आरोहणको ६५ वर्ष भइसक्दा पनि अपि बेसक्याम्प पुग्ने पर्यटक निकै कम छन् 

Read Time : > 6 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार o८:o९:oo

अपि हिमाल ! धेरै हिमालका नाम सुनेकाहरूसमेत यो नाम लिँदा नौलो मान्छन् । अझ अपि हिमाल बेसक्याम्पसम्म ट्रेकिङ जानेभन्दा धेरैमा अचम्मको भाव उत्पन्न भएको पाएँ । नेपालको पर्यटन प्रवर्द्धनन गर्ने जिम्मा लिएको संस्था नेपाल टुरिजम बोर्डले समेत आफ्नो वेबसाइटमा अपिलाई समेटेको देखिँदैन ।

सुदूरपश्चिमको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य भएर पनि ओझेलमा परेको थाहा पाएदेखि नै अपि आधार शिविर (बेसक्याम्प) सम्म जाने सोच बनाएको थिएँ । केही समयअघि यो अवसर प्राप्त भयो । अपि बेसक्याम्पसम्म किन जाने ? यात्रामा के के देख्छ पाइन्छ ? सुदूरपश्चिमको अन्तिम बिन्दु दार्चुलास्थित बेसक्याम्पसम्म पुग्न कति सहज छ ? दार्चुलाबाट हेर्दा बाँकी नेपाल कस्तो देखिन्छ ? यिनै विषयमा यहाँ चर्चा हुनेछ ।

१२ जेठमा १२ जनाकै टोली अपि हिमाल बेसक्याम्पसम्म ट्रेकिङका लागि काठमाडौंबाट धनगढीतर्फ लाग्यौँ । पहिलो दिन काठमाडौं–धनगढी हुँदै दार्चुलाको गोकुलेश्वरसम्म पुग्यौँ । धनगढीबाट जिपमा गोकुलेश्वर पुग्यौँ । कैलाली, डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुगेको पत्तै भएन । यहाँका प्राकृतिक, धार्मिक र भौगोलिक अवस्थाले सबै अप्ठयारा गौण बनाए ।

काठमाडौंबाट हिँडेको दोस्रो दिन बिहान हामी दार्चुलाको मकरीगाड पुग्यौँ । मकरीगाडमा अपि बेसक्याम्पसम्म जाने पदयात्राको सूचना दिने सूचना केन्द्र रहेछ । पदमार्ग रुट समेटेर राखेको सूचना बोर्ड बाटैबाट देख्न सकिन्छ । आइटेनरीअनुसार हामी लाग्यौँ, नौपाटा होम स्टे भेट्न । दिउँसो १२ बजेको टन्टलापुर घामलाई बेवास्ता गर्दै हाम्रो यात्रा अघि बढ्यो । फरक भौगोलिक अवस्था, रहनसहन, समाज, संस्कृतिजस्ता विषयले यात्रा जस्तोसुकै अवस्थामा पनि अगाडि बढ्छ ।

पर्यटन विषयमा विद्यावारिधि गरेका डा. शिवराज जोशीले एक टेलिभिजन कार्यक्रममा भनेका छन्, ‘दार्चुला प्राकृतिक स्रोतको भण्डार हो । यद्यपि, अपि हिमालको प्रचारप्रसार हुन पाएको छैन ।’ साँच्चै अपि हिमाल बेसक्याम्पसम्म पुग्दा लाग्छ, प्रचारप्रसार अभावकै कारण ओझेलमा छ । सन् १९६० मै द डोसिसा अल्पाइन सोसाइटी अफ जापानका आरोहीहरू कत्सुतोसी इराबयासी, ग्याल्जेन नोर्बु, एम तेरासी र वाई च्सुदाले अपि आरोहण गरेका थिए । सफल आरोहणको ६५ वर्ष भइसक्दा पनि अपि बेसक्याम्प पुग्ने पर्यटक निकै कम छन् ।

बाटैभरि देखिन्छन् वन्यजन्तु र जडीबुटी

रिङ्देपानी तालबाट देखिएको अपि हिमाल

काठमाडौंबाट हिँडेको पाँचौँ दिन हामी अपिको बेसक्याम्प पुग्यौँ । दार्चुलाको मकरीगाडबाट चौथो दिन बेसक्याम्प पुगेका थियौँ । बेसक्याम्पसम्म पुग्ने त्यो रुट, रुट मात्र थिएन, विशाल विश्वविद्यालय थियो । जहाँ भौगोलिक विकटतासँगै त्यहाँका मानिसले सामना गर्नुपरेका अनेक दुःख, कष्ट र त्यसका बाबजुद एकनासले चलेका दिनचर्या देख्न सकिन्छ । सँगै प्राकृतिक सम्पदाहरू, खोलानाला, पहरा, गुफा, वनजंगल अनि जीवन सहज बनाउन गरिएका अनेक उपाय । अपि हिमालको काखमा चमेलिया नदीको मुहान, मौलिक गाउँबस्ती, ढुंगा माटोको घर, ढुंगाको छानो । बनावटी दुनियाँबाट टाढा, टाढा । यही हो, अपि हिमाल बेसक्याम्पसम्मको यात्रा विशेषता । मकरीगाड, पादु, लिथि, घुसा, नाली, खारुखोड, सिती, खायकोट, सिमार, दमोल, धौलीओडोर हुँदै बेसक्याम्प (३९०० मिटर) पुग्न सकिन्छ । मकरीगाड, खण्डेश्वरी, थुम्ती, लुम्चा हुँदै खायकोट हुँदै अर्को बाटो पक्रेर अगाडि बढ्न पनि सकिन्छ । बेसक्याम्पबाट अझै प्रकृतिसँग रम्न, झुम्न चाहानेहरू रिङ्देपानी, काली ढुंगाताल पुग्न सक्छन् । रिङ्देताल (४२०० मिटर) र काली ढुंगा ताल (४३०० मिटर) उचाइमा छ ।

बेसक्याम्पसम्म पुग्ने क्रममा अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने यस ट्रेकिङ रुटमा थुप्रै वन्यजन्तु तथा जडीबुटी देखिन्छन् । कस्तुरी, मृग, डाँफे, झारल, नावर, हिमचितुवाजस्ता वन्यजन्तु देख्न सकिन्छ । पाँचऔँले, यार्चागुम्बा, सतुवा, वन लसुन, जटामसीजस्ता जडीबुटीको बास्नाले यात्रा रोमाञ्चित बन्छ । त्यसैले, जति अपि बेसक्याम्प नजिकिन्छ, उति नै कुतूहलता र उत्सुकताले मन भरिन्छ । साँच्चै अपि हिमाललाई नजिकबाट स्पर्श गर्न मन आतुर हुन्छ । मुख्य बाली र गेडागुडीको रूपमा जौ, गहुँ, मकै, फापर, कोदो, मार्सी, आलु, सिमी उत्पादन हुन्छ । वैशाख–जेठमा बेसक्याम्प पुग्नेले जौ काट्न थालेको र गहुँ झुलेको देख्न सक्छन् । गह्राभरि लहलह भएको आलुखेतीले यात्रा थप सुन्दर बन्छ । 

मल्देशी संस्कृति र सौका समुदायले सजिएको क्षेत्र

यात्राका क्रममा सिती गाउँमा भेटिएका स्थानीय महिला ।

मल्देशी संस्कृति र सौका समुदायको परम्परा यहाँको मुख्य संस्कृति हो । बेसक्याम्पभन्दा अलिक फरक विषयमा ध्यान दिने हो भने धार्मिक धरोहरको रूपमा क्षेत्ती र घाजिरलाई सुर्मादेवीको पवित्र स्थान मानेर फन्को लगाउन सकिन्छ । करिब १५ दिनसम्म चल्ने सुर्माको जात्रा निकै भक्तिका साथ मनाउने गरिन्छ । यो जात्रामा दार्चुला र बझाङको सिमानामा रहेको सुर्मा सरोवर ताललाई देवीको प्रमुख स्थान मानेर पूजापाठ गर्ने परम्परा छ । क्षेत्तेली, डोटेलीसहित अन्य मिश्रित भाषाको प्रयोग गाउँघरमा हुन्छ । छङछङ बग्ने चौलानी नदीको तिरैतिरै हिँड्दा मन त्यतै भुल्छ । अपवादबाहेक धेरै ठाउँमा लालीगुराँस फुलेर सकिएका छन् । स्याउ, पुलम, आरु, ओखर पाइने यी ठाउँका ओखर फूलबाट चिचिलामा परिणत भएका छन् । 

अपि हिमाल चिनाउँदै पालिका 

अपि हिमाल गाउँपालिकाको सिती गाउँ

सुदूरपश्चिमकै सबैभन्दा अग्लो उचाइमा रहेको अपि हिमाल (७१३२ मिटर)को प्रचारप्रसार र प्रवर्द्धनन गरेर आम्दानी बढाउने नेतृत्व अपि हिमाल गाउँपालिकाको काँधमा आएको छ । ‘गुमनाम’ अपि हिमाललाई मूलधारमा ल्याई अपि हिमाल बेसक्याम्पसम्मको यात्रा सहज बनाउने योजनामा गाउँपालिका लागिपरेको छ । औँलामा गन्न सकिने र आन्तरिक पर्यटक मात्र पुग्दै आएको यहाँ विदेशीलाई पनि पुर्‍याउने ध्याउन्नमा गाउँपालिका छ । गाउँपालिकाको योजना सफल पनि बन्दै गएको छ । ‘पर्यापर्यटन, प्रकृति, संस्कृति हेर्दै अपि हिमाल बेसक्याम्पमा घुम्न सकिन्छ । बेसक्याम्प जाँदा मल्देशी सांस्कृतिक विविधता, सौका समुदाय र संस्कृतिको अवलोकन गर्न पाइन्छ । प्राकृतिक रूपमा जंगल, जडीबुटी र वन्यजन्तु हेर्न पाइन्छ । प्राकृतिक झर्ना, कलकल बगेको चमेलिया नदीलगायत दृश्य देख्न सकिन्छ,’ गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले भने, ‘स्थानीयवासीको जीविकोपार्जन उकास्न र उच्च हिमाली क्षेत्रको पर्यटन विकास गर्दा स्थानीयले फाइदा लिऊन्, नेपालभित्रै रहेको यति सुन्दर ठाउँमा राष्ट्रिय अन्र्तराष्ट्रिय रूपमा बैठक होऊन्, यहाँको पर्यटकीय र प्राकृतिक स्रोतको दृश्यावलोकन गर्दै आनन्द लिऊन् भन्ने मुख्य उद्देश्यले कार्यक्रम चलाएका हौँ । मुख्यतः यसको सम्बन्ध स्थानीयवासीको जीविकोपार्जनसँग नै जोडिएको छ ।’ 

पर्यटन प्रवर्द्धनन गर्न पालिकाले वार्षिक बजेटबाट समेत रकम विनियोजन गर्ने गरेको छ । पालिकाले चालू आर्थिक वर्षमा ‘भिजिट अपि हिमाल’ कार्यक्रमलाई निरन्तरता दिएको छ । पर्यटकको संख्या १० हजार पुर्‍याउने लक्ष्य राखेको छ । आगामी १० वर्षभित्र वार्षिक एक लाख पर्यटक भित्र्याउने लक्ष्य छ ।

गाउँपालिकाले १० असोज ०८० मा अपि भ्रमण वर्ष सुरु गरेको थियो । पर्यटन प्रवर्द्धननका लागि भन्दै गाउँपालिकाले आव ०८०/८१ का लागि ५६ लाख बजेट विनियोजन गरेको थियो । चालू आवमा पनि ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै, पर्यटन प्रवर्द्धननका लागि अपि भ्रमण सप्ताह ०८०, अपि भ्रमण वर्ष ०८०, होम स्टे व्यवसायीको लागि होम स्टे व्यवस्थापन र कुक तालिम, ट्रेकिङ गाइड तालिम, अपि बेसक्याम्पसम्मका पदमार्गमा पर्यटकीय विश्रामस्थल निर्माण, सूचना बोर्ड, सूचना केन्द्र तथा कोसेली घर निर्माणजस्ता काम गाउँपालिकाले गरेको छ । अपि बेसक्याम्पसम्म पुग्न सिँढी, पक्की र काठे पुल बनाइएको छ । 

आठ हजार पुगे अपि

हालसम्म आठ हजार पर्यटक अपि बेसक्याम्पसम्म पुगिसकेको गाउँपालिकाको तथ्यांक छ । ‘तीन वर्षअघिसम्म यो क्षेत्रबारे सामान्य प्रचारप्रसारसमेत हुन सकेको थिएन । वैशाख ०८० मा भ्रमण सप्ताह आयोजना गर्‍यौँ । अहिलेसम्म आठ हजारभन्दा धेरैले बेसक्याम्प घुमिसक्नुभएको छ । पूर्वाधारमा लगानी गरेपछि पर्यटन प्रवर्द्धनन कार्यक्रमले पर्यटक आवागमन बढिरहेको छ,’ अध्यक्ष बोहराले भने ।

पर्यटन बोर्डअन्तर्गतको सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी परियोजना (एसटिएलआरपी)अन्तर्गत युएनडिपी नेपालको सहयोग तथा पर्यटन विभागको सहकार्यमा अपि हिमाल बेसक्याम्प ट्रेकिङ रुट तयार भएको छ । अपि, नाम्पा, कापचुली र जेठी बौरानी गाउँपालिकाको प्रमुख हिमाल हुन् । ती सबै हिमाल र यहाँको प्राकृतिक र सांस्कृतिक अवस्थासँग रमाउन यहाँ पुग्नैपर्ने सरोकारवाला बताउँछन् । 

मोटर बाटो र बिजुली बाधक 
सदरमुकामदेखि २३ कोस टाढा रहेको गाउँपालिकालाई अझै पनि सडक यातायातले छुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । करिब सात हजार जनसंख्या रहेको यस गाउँपालिकाको अधिकांश भूभाग हिमाली र पहाडी क्षेत्रमा छन् । जसले गाउँपालिकालाई पर्यटन प्रवर्द्धननका कार्यक्रम गर्नसमेत चुनौती दिइरहेको छ ।

नौपाटा होमस्टेमा परम्परागत वेशभूषामा स्वागत गर्दै महिलाहरू । तस्बिर सौजन्य : बालकुराम पुन

संघ र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगर्दा थप समस्या झेल्नुपरेको अध्यक्ष बोहराले आरोप लगाए । ‘गाउँपालिकाको ठुला समस्या भनेको पालिका सदरमुकामसम्म मोटरबाटो पुगेको छैन । यो पर्यटकीय गन्तव्यको दूरी टाढा भएकाले आवातजावत पनि गर्न समस्या छ । पर्यटनका गतिविधिमा समस्या छ । तर, मोटरबाटो पुर्‍याउन पहल गरिरहेका छौँ,’ अध्यक्ष बोहराले भने, ‘राष्ट्रिय प्रसारण लाइनले पनि पालिका छोएको छैन । प्राधिकरणले सबै बस्तीमा पुग्ने गरी राष्ट्रिय प्रसारण लाइन टेन्डर आह्वान गरेको छ । ढुवानी समस्याले गर्दा अहिलेसम्म बिजुली पुग्न सकेको छैन ।’ 

राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन आवश्यक विद्युत् पोल र तार दार्चुलाको मकरीगाडको सडकमा छरिएका छन् । आफ्नो तर्फबाट पहल गर्दै गर्दा पनि प्राधिकरण र ठेकेदारको ढिलासुस्तीले समयमै काम सम्पन्न हुन नसकेको उनको भनाइ छ । उनका अनुसार चालू आवमै सबै गाउँबस्तीमा विद्युतीकरण गरिसक्ने सम्झौता भएर काम भइरहेको छ । तर, ढिलासुस्तीका कारण समयमै सम्पन्न हुनेमा शंका छ । 

सडक निर्माण पनि भइरहेको छ । ठेकेदारको ढिलासुस्ती यहाँ पनि उस्तै छ । पालिकाले निरन्तर पहल गरिरहेको अध्यक्ष बोहोराले बताए । उनकै भनाइलाई आधार मान्ने हो भने गाउँपालिकावासी आफैँ उठ्ने प्रयत्न गरिरहेका छन् । आधारभूत आवश्यकता पूरा गर्दै जीविकोपार्जनका नयाँ–नयाँ उपाय खोजिरहेको छ । त्यसैले अब राजधानीबाट देखिने दार्चुला, दार्चुलाजस्तो छैन । दार्चुलाको अपि क्षेत्रमा भिर, पाखा, पहरा मात्र छैनन्, नदी, हिमाल, हेर्दै लोभ लाग्दा चाक्ला पाटन छन् । आफ्नो क्षेत्र आफैँ बनाउन लागिपरेका इमानदार मानिस छन् । जसको मिहिनेत र ऊर्जाले अपि फेरिँदै छ । दार्चुला फेरिँदै छ ।

आगामी तीन वर्षमा नतिजा देखिने गरी अपिको प्रवर्द्धननका लागि पहल गर्दै छौँ – सिइओ जोशी
पर्यटन बोर्डले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धनन गर्ने योजनाअनुसार अपि हिमालको पनि पर्यटन प्रवर्द्धनन गर्ने भएको छ । कञ्चनजंगा, अपि र बुद्ध हिमाललाई प्राथमिकतामा राखेर काम गर्ने गरी छलफल अगाडि बढेको बोर्डले बताएको छ ।

पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सस्टेनेबल टुरिजम प्रोजेक्टको नाममा हाल अपि हिमाल रुटमा काम भइरहेको हो । पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक (सिइओ)दीपकराज जोशीका अनुसार मे महिनादेखि सो क्षेत्रमा पर्यटन प्रवर्द्धनन गर्ने उद्देश्यले विभिन्न काम भइरहेको छ ।

‘पदयात्रा र पर्यटनलाई बलियो बनाउने गरी साइनबोर्ड राख्ने, ट्रेल मर्मत गर्ने, स्थानीय सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्ने र बजारसँग सम्बन्ध पनि बढाउँदै लैजाने योजनासहित भर्खर काम सुरु भएको छ । आगामी दुईदेखि तीन वर्षमा केही न केही नतिजा देखिन्छ,’ सिइओ जोशीले भने, ‘अपि हिमाल जान दूरी टाढा छ । सेवा प्रवाहको अवस्था त्यस्तै छ । प्रवर्द्धनन पनि खासै भएको छैन । हामीले पनि केही कार्यक्रम ल्याउँदै छौँ । त्यसपछि केही नतिजा देखिएला ।’

उनले पर्यटन प्रवर्द्धननको काम ढिला भएको विषयमा बहस गर्नुभन्दा सम्भाव्यता भएको ठाउँलाई नयाँ ढंगले अगाडि बढाउनु महत्वपूर्ण भएको बताए । ‘नेपालमा थुप्रै त्यस्ता ठाउँ छन्, जुन ठाउँको पर्यटन प्रवद्धर्न हुन सकेको छैन । निजी क्षेत्रले अपनत्व नलिईकन, सेवा दिन तयार नभईकन पर्यटकीय हिसाबले अगाडि आउन सक्दैन । त्यसैले निजी क्षेत्रलाई जोडेर अगाडि बढ्नेछौं । विगतको अनुभवले पनि त्यही भन्छ । हिजो भएन, हिजो कसले के गरेन भनेर एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा नयाँ ढंगबाट महत्वपूर्ण ठाउँलाई अगाडि लैजाऔँ भन्नेमै छौँ,’ उनले भने । युएनडिपीसँगको सहकार्यमा मे महिनादेखि काम सुरु भए पनि चालू आर्थिक वर्षको बजेटले साउनदेखि थप काम हुने बोर्डले बताएको छ ।