
विभागीय सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ०८२ को उपाधि हात पारेको छ । विभागीय डर्बीमा नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।
नेसनल स्पोट्र्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघले संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्य कभर्डहलमा सम्पन्न फाइनल खेलको पहिलो सेट २५–१९, दोस्रो सेट, २५–२० र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै एपिएफले पुलिसलाई निरास बनाउँदै उपाधि हात पारेको हो ।
प्रतियोगितामा पुलिस समूह ‘ए’ को विजेता र एपिएफ समुह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाईनलमा पुलिसले समूह ‘बी’ को उपविजेता एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा र एपिएफले समूह ‘बी’ को विजेता न्यु डायमण्ड स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनमा स्थान बनाएका थिए ।
दुई साताबिचमा दुई टोलीको पोखरामा यो तेस्रो भेट हो । जितसँगै एपिएफले यस अघिका दुई हारको बदला पुलिससँग लिएको छ । प्रतियोगिताको २७ जेठमा भएको उद्घाटन खेलमा पुलिसले एपिएफलाई २५–२२, २७–२५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । त्यसअघि पोखरामा सम्पन्न प्रधानमन्त्री (पिएम) कप एनभिए पुरुष तथा महिला भलिबल लिग ०८२ अन्तर्गत ११ जेठमा सम्पन्न खेलमा पुलिसले एपिएफलाई २५–१९, २४–२६, २५–१८ र २५–२१ को ३–१ को सेटमा पाखा लगाएको थियो ।
यसै गरि तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड स्पोट्र्स क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्याे । खेलको पहिलो सेट २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले न्यु डायमण्डले आफ्नो पक्षमा पारेको थियो ।
दुई साताको बिचमा दुई टोलीको पोखरामा यो तेस्रो भेट हो । तीन भेटमै न्यू डायमण्डाले जित हात पार्दा हारको बदला लिनबाट एभरेष्ट चुकेको छ ।
सम्पन्न प्रतियोगिताको २७ जेठमा भएको खेलमा २५–११, २५–१८ र २५–१० को सोझो सेटमा र त्यसअघि सम्पन्न प्रधानमन्त्री (पिएम) कप एनभिए पुरुष तथा महिला भलिबल लिग ०८२ अन्तर्गत १० जेठमा सम्पन्न खेलमा २१–२५, २५–२३, २५–१४ र २५–२२ को १–३ को सेटमा न्यू डायमण्डले जित हात पारेको थियो ।
२७ जेठदेखि सुरु ६ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउदा सर्वोत्कृष्ट खेलाडीले ३० र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूले जनही २० हजार नगद पुरस्कार पाए ।
यी खेलाडी भए सर्वोत्कृष्ट र उत्कृष्ट
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी : एपिएफकी निरुता ठगुन्ना
उत्कृष्ट सेटर : एपिएफकी जसना महतो
उत्कृष्ट सर्भरमा : एपिएफकी सृष्टि खड्की
उत्कृष्ट स्पाइकर : पुलिसकी उषा भण्डारी
उत्कृष्ट ब्लकर : न्यु डाइमण्डकी सुमित्रा रेग्मी
उत्कृष्ट लिब्रो : न्यु डायमण्डकी सलिना श्रेष्ठ
उत्कृष्ट प्रशिक्षक : एपिएफका पुष्प मल्ल
जितपछि एपिएफका प्रशिक्षक पुष्प मल्लले भने– खेलाडीको कडा मेहनताका कारण जित हात पारियो । जुन योजना बनाएर मैदान छिरेका थियांै खेलाडीले सोहीअनुसार खेल्दा जितका लागि सहज भएको । जितका लागि सहज भने थिएन तर यस अघिका कमी कम्जोसी सुधारेर खेलाडीले गरेको मिहिनेत र विपक्षीको कमि कम्जोरीसँगै अन्य कुरामा बनाएको रणनीतिअनुसार खेलाडीको प्रस्तुतिले मेल खाएकाले पनि जितका लागि सहज भएको भनाइ उनको छ ।
पुलिसका प्रशिक्षक रुपेश विष्टले भने– आज टोलीमा कम्बिनेशन नमिल्नु हारको कारण रह्यो । आज हाम्रो ब्लक, सर्मिस सबैमा कम्जोरी रह्यो, तालमेल पनि मिलने, केही खेलाडीलाई मात लागेजस्तो पनि देखियो जस्का कारण आफनै गल्तिले हार्न पुगियो । खेलमा हार जित स्वभाविक हो, तर आज आफै कारणले हारेकाले यो हारबाट पाठ सिक्ने मौका समेत मिल्यो ।