
नेपाल पुलिस र नेपाल एपिएफ क्लब पहिलो संस्करणको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । पोखरामा शुक्रबार राउन्ड रोबिन लिगका आधारमा भएको पहिलो सेमिफाइनलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुई स्थान पक्का गर्यो । एपिएफले दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिससँगको उपाधि भिडन्त पक्का पार्यो ।
पुलिसले एभरेस्टमाथि २५–१६, २५–१३ र २५–११ को जित निकाल्यो । एपिएफले न्यु डायमन्डलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा हरायो । न्यु डायमन्डले दोस्रो सेटमा एपिएफलाई कडा टक्कर दिए पनि जित निकाल्न सकेन । एभरेस्टले दुई साताअघि पोखरामै भएको प्रधानमन्त्री (पिएम) कप एनभिए पुलिससँगको हारको बदला लिन मौका गुमाएको छ । एफिएफले न्यु डायमन्डसँग हारको बदला एपिएफले लियो ।
९ जेठमा पुलिसले एभरेस्टलाई २५–१९, २५–१८ र २५–१८ को सोझो सेटमा हराएको थियो । १३ जेठमा न्यु डायमन्डले एपिएफलाई २५–१८, २५–२२ र २५–१६ को सोझो सेटमा पाखा लगाएको थियो । प्रतियोगिताको उपाधि विजेताले ६ लाख, उपविजेताले तीन लाख र तेस्रोले एक लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीले ३० र विधागत रूपमा उत्कृष्ट हुने खेलाडीले जनही २० हजार रुपैयाँ हात पार्नेछन् ।