
शैक्षिक संस्थामाथि विद्यार्थी नेताहरूले नै आक्रमण गर्नुले के संकेत गर्छ ?
यो दण्डहीनता र अराजकताको पराकाष्ठा हो । यहाँ जसले जे गरे पनि कुनै दण्डसजाय हुँदैन, उल्टो राजनीतिक संरक्षण प्राप्त हुन्छ । दशकौँदेखि यहाँ यही चल्दै आएको छ । यहाँ शैक्षिक संस्थामाथि तोडफोड मात्र होइन, व्यक्तिमाथि भौतिक आक्रमणसमेत भइरहेका छन् । अमेरिकातिर विश्वविद्यालयको आफ्नै प्रहरी फोर्स हुन्छ । तर, हामीकहाँ यहाँका शैक्षिक संस्थाभित्र सुरक्षाको कुनै संयन्त्र नै हुँदैन । दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंकालगायत देशमा यस्ता घटना कम हुँदै गएका वेला नेपालमा चाहिँ बढ्नु चिन्ताको विषय हो ।
यस्ता अराजक गतिविधि पटकपटक किन दोहोरिइरहेका होलान् ?
जब देशमा दण्डहीनताले प्रश्रय पाउन थाल्छ, जब जस्तोसुकै अपराध गरे पनि दण्डसजाय हुँदैन, अपराध गर्नेलाई राजनीतिक संरक्षण प्राप्त हुन्छ तब यस्ता अराजक गतिविधि पटकपटक दोहोरिइरहनु अनौठो होइन । यहाँ कुनै पनि दल या विद्यार्थी संगठनले को विद्यार्थी हो र को ‘गुन्डा’ हो भनेर छुट्याउन जरुरी ठान्दैनन् । जसले गर्दा गलत कार्य गर्ने, अराजकता मच्चाउने तत्व थप प्रोत्साहित हुन्छ र यस्ता घटना कम हुनुको साटो बढ्न थाल्छन् ।
यस्ता घटना नरोकिनुमा राजनीतिक दल, तिनका भ्रातृ संगठन र शैक्षिक संस्थाको नेतृत्व कहाँकहाँ चुकिरहेका छन् ?
यसमा शैक्षिक संस्थाको नेतृत्वलाई दोष दिन मिल्दैन । बिचरा उहाँहरूले चाहेरै पनि के नै गर्न सक्नुहुन्छ र ? यसमा विद्यार्थीले आफ्नो सीमा नाघ्नु हुँदैन । उनीहरूका जायज माग, जायज बाटोबाट आएका छन् भने सुन्नुपर्छ, पूरा गर्नुपर्छ । तर, माग राख्ने नाममा हुने गुन्डागर्दी र अराजकता भने सह्य हुँदैन । गुन्डागर्दीमा उत्रिने विद्यार्थीलाई राजनीतिक दलहरूले कानुनको सीमा ननाघ्न सचेत गराउन सक्नुपर्छ । गलत गरेमा तिमीहरूलाई हामी संरक्षण गर्न सक्दैनौँ, कानुनले जे भन्छ त्यही हुन्छ, भन्न सक्नुपर्छ ।