
हालैका इजराइल–हमास, भारत–पाकिस्तान र रुस–युक्रेनबिचको ‘एसिमेट्रिक वारफेयर’ (असमान शक्तिबिचको लडाइँ) मा इन्टेलिजेन्स एजेन्सीको नसोचेको विफलता र प्रविधिको चतुर (इनजिनियस) प्रयोगले देखाएको नतिजाले संसारलाई चकित पारेको छ । शक्तिशाली राष्ट्रलाई समेत यी घटनाले आफ्नो क्षमतामा पुनरावलोकन गर्न बाध्य बनाएको छ । इजरायल, भारत र रुसले व्यहोरेको ठुलो इन्टेलिजेन्स विफलताको फलस्वरूप क्रमशः इजरायलको ‘अप्रेसन स्वर्ड्स अफ आयरन’, भारतको ‘अप्रेसन सिन्दूर’ र रुसविरुद्ध युक्रेनको ‘अप्रेसन स्पाइडरवेब’ कार्यान्वयनमा आएको हो ।
यी अप्रेसनमा अत्याधुनिक प्रविधियुक्त हतियार तथा उपकरण, जस्तै– ४.५ जेनेरेसन युद्धक विमान, ड्रोन र मिसायल प्रयोग भए । उपलब्ध अत्याधुनिक नयाँ प्रविधि, त्यसलाई नवीन ढाँचामा उपयोग गर्ने दक्षता र प्रविधिको प्रतिस्पर्धात्मक विकासले भावी युद्धको चरित्रलाई तीव्र गतिमा बदल्दै लैजाने सम्भावना छ । एसिमेट्रिक युद्धमा कमजोर पक्षले समेत प्रविधिलाई आफ्नो आवश्यकताअनुसार परिमार्जन र विकास गरी प्रयोग गरेको खण्डमा शक्तिशाली राष्ट्रलाई समेत दह्रो पाठ सिकाउन सक्ने देखिएको छ । राज्य र गैरराज्य पक्षले अत्यन्त गोप्य रूपमा गरेका आक्रमणमा इजरायल, भारत र रुसजस्ता शक्तिशाली देशका प्रख्यात इन्टेलिजेन्स एजेन्सीसमेत असफल भएका छन् । यो असफलताले ती देशका जनतामा गहिरो मनोवैज्ञानिक असर पारेको देखिन्छ ।
यही १ जुनमा युक्रेनले विश्वलाई नै चकित तुल्याउने गरी रुसभित्रै घुसेर पाँचवटा सैनिक हवाई अखडामा भीषण ड्रोन आक्रमण गरी रुसको करिब ३४ प्रतिशत रणनीतिक बम्बर जहाजलाई ध्वस्त बनाएको दाबी गरेको छ । रुसको प्रख्यात गुप्तचर संस्थाले युक्रेनको आक्रमण योजनाबारे सुइँको पाउन सकेन । पहलगाममा भएको आतंककारी हमलाको पूर्वसूचना भारतीय गुप्तचर संस्थाले प्राप्त गर्न सकेनन् । इजरायलमा भएको हमासको आतंककारी हमलाबारे इजरायली गुप्तचर संस्थाले सुइँकोसम्म पाएन । त्यसैले सैनिक र आणविक शक्तिराष्ट्र भारत र रुस संलग्न भएका हालैका अप्रेसन सिन्दूर र अप्रेसन स्पाइडरवेब सैनिक इतिहासकार र रणनीतिज्ञका लागि अत्यन्तै चासोको विषय बनेकोे छ । भावी युद्धहरू, विशेषगरी एसिमेट्रिक वारफेयरमा अत्याधुनिक प्रविधिको चतुर प्रयोगले भयानक परिणाम र अभूतपूर्व प्रभाव पार्न सक्ने देखिन्छ ।
भारतको कस्मिरस्थित पहलगाममा २२ अप्रिलमा भएको आतंककारी हमलामा परी एकजना नेपालीसहित २५ भारतीय हिन्दु पर्यटकको मृत्यु भयो । हमलामा पाकिस्तानी आतंकवादी समूह जैस–ए मोहम्मदको हाँगा ‘रेजिस्टेन्स मुभमेन्ट’ नामक संगठन संलग्न भएको आरोप लगाई भारतले १५ दिनको तयारीपछि पाकिस्तानभित्र ‘अप्रेसन सिन्दूर’ लन्च गर्यो । ७ मेदेखि चार दिनसम्म चलेको अप्रेसनमा भारतले पाकिस्तानस्थित आतंककारी आश्रयस्थल, तालिम केन्द्र र आतंककारीलाई बर्बाद पार्नुका अतिरिक्त ११ वटा पाकिस्तानी हवाई अखडामा गम्भीर क्षति पुर्याएको दाबी गर्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मध्यस्थतामा युद्धविराम भएको दाबी गरे पनि भारतले त्यसलाई ठाडै अस्वीकार गर्यो । काउन्टर अप्रेसनमा पाकिस्तानले फ्रान्समा निर्मित भारतीय वायुसेनाका ६ वटा अत्यधुनिक रफायल र मिराज युद्धक विमान खसालेको दाबी गर्यो । भारतले चाहिँ यसलाई स्विकारेको छैन । ‘मिडिया वारफेयर’ जारी छ ।
यस लडाइँमा भारत र पाकिस्तान दुवै पक्षले आफू विजयी भएको दाबी गरेका छन् । अप्रेसनको परिणामले भारतीय र पाकिस्तानी जनतामा फरक तर व्यापक मनोवैज्ञानिक प्रभाव पारेको छ । पहलगाममा भएको आतंककारी हमलापछि एकढिक्का भएको भारत अप्रेसन सिन्दूरपछि विभाजित देखिन्छ । त्यहाँका विपक्षी राजनीतिक दल, स्वतन्त्र मिडिया र जनता सरकारसँग अनेक प्रश्नका जवाफ मागिरहेका छन् । अप्रेसन सिन्दूर समाप्त भए पनि भारतमा यस विषयकेन्द्रित कूटनीतिक र राजनीतिक युद्ध समाप्त भएको छैन । सैनिक युद्धले मनोवैज्ञानिक युद्धको फेरो समातेको छ । अर्कातर्फ पाकिस्तानले भने विजयोल्लास मनाउँदै पाकिस्तानी सेना प्रमुखलाई फिल्ड मार्सल दर्जामा पदोन्नति गर्यो । युद्धविराम गर्न पृष्ठभूमिमा बसेर प्रभावकारी भूमिका खेलेको भन्दै पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दियो । प्रविधि र स्वतन्त्र मिडियाको युगमा यी प्रतिस्पर्धी दाबी र प्रतिदाबीप्रति बाह्य जगत्ले उपलब्ध तथ्यलाई हेरेर आफ्नो छुट्टै मनोविज्ञान बनाएको छ ।
अप्रेसन स्पाइडरवेबको तयारी र सञ्चालन : अप्रेसन सिन्दूर स्थगन भएको २३ दिनपछि युक्रेनले रुसभित्रै घुसेर युद्ध मोर्चाभन्दा हजारौँ माइल टाढा पूर्वमा साइबेरियादेखि पश्चिममा ओल्यान्यासम्म पाँचवटा भिन्न हवाई अखडामा एकसाथ भीषण ड्रोन हमला गरी रुसका ४१ वटा रणनीतिक बम्बर ध्वस्त पार्न वा क्षति पुर्याउन सफल भएको छ । यो क्षतिको मूल्य करिब सात अर्ब अमेरिकी डलरबराबर हुने अनुमान गरिएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो स्वीकृतिमा करिब डेढ वर्ष लगाएर यो अप्रेसनको योजना र तयारी गरेको खुलासा गरेका छन् । यो रुसी इन्टेलिजेन्सले व्यहोरेको ऐतिहासिक विफलता हो । युक्रेनले यसको तयारी र कार्यान्वयनबारे अमेरिकालाई समेत पूर्वसूचना दिएको थिएन । अत्यन्तै गोप्य रूपमा सञ्चालन गरिएको यस अप्रेसनले रुसको क्षमता र मनोविज्ञानमा ठुलै असर पारेको छ ।
युक्रेनको इन्टेलिजेन्स एजेन्सी ‘सिक्योरिटी सर्भिस अफ युक्रेन’ (एसबियु) ले ११७ ससाना ड्रोनलाई रुसभित्र पुर्याई कन्टेनर आकारको काठे मोबाइल घरको सिलिङमा जडान गरेर राखेको थियो । काठे घरको छाना टाढैबाट स्वचालित रूपमा खोलेर फाइबर केबलबाट पथप्रदर्शन गर्ने (वायर गाइडेड) ड्रोनलाई लक्षित हवाई अखडा नजिकै तैनाथ गरेर आक्रमणका लागि तयार राखेको थियो । वायर गाइडेड ड्रोनहरू छोटो दूरीबाट लन्च गरिएको हुँदा त्यसलाई रुसको एअर डिफेन्स प्रणालीले निष्प्रभावी बनाउन सम्भव भएन । आक्रमणअघि ती मोबाइल घरलाई १८ पांग्रे लामो ट्रकमाथि राखेर लक्षित पाँचवटा हवाई अखडानजिक पार्क गरेर राखिएको थियो । रुसको इन्टेलिजेन्स एजेन्सीले समेत पत्तो नपाउने गरी सञ्चालन गरिएको यो अत्यन्तै बुद्धिमता, कौशल र चलाखीपूर्ण कारबाहीले रुसमाथि भयानक क्षति पुर्याउन सफल भयो । यो आक्रमणलाई दोस्रो विश्वयुद्धमा जापानले सन् १९४१ डिसेम्बर ७ मा अमेरिकाको पर्ल हार्वरमा आक्रमण गरेर पुर्याएको अभूतपूर्व क्षतिसँग तुलना गरिएको छ । अप्रेसन स्पाइडरवेबमा संलग्न सबै युक्रेनी अपरेटरलाई आक्रमण भएकै दिन रुसबाहिर निकालिसकेको दाबी गरिएको छ ।
अप्रेसन सिन्दूरमा प्रविधिको प्रयोग : अप्रेसन सिन्दूरमा भारतले फ्रान्समा निर्मित विश्वकै अत्याधुनिक प्रविधियुक्त युद्धक विमान रफायल (४.५ जेनेरेसन फाइटर) र मिराजबाट पाकिस्तानभित्र आक्रमण गरेको थियो । भारतीय रफायल र मिराजविरुद्ध पाकिस्तानले चीनमा निर्मित चौथो जेनेरसनको जे (१० सी (४.५ जेनेरेसन फाइटर) युद्धक विमान र मिसायल प्रयोग गरेको थियो । युद्धमा सफलता हासिल गर्न अत्याधुनिक प्रविधियुक्त उपकरण भएर मात्र पुग्दैन, त्यसलाई कुशतापूर्वक चलाउन जान्ने अनुभवी पाइलट र अप्रेटर पनि चाहिन्छन् । भनिन्छ, ‘गनभन्दा गनपछाडि बस्ने मानिस बढी महत्वपूर्ण हुन्छ’ । पाकिस्तानले अत्याधुनिक प्रविधिको प्रयोगबाट भारतीय युद्धक विमान खसालेका तस्बिर तुरुन्तै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो । यो प्रमाणले उसको दाबीलाई धेरै हदसम्म विश्वनीय बनायो । तर, भारतले यो क्षतिबारे केही बोलेको छैन । यद्यपि, लडाइँमा प्राप्त सफलताको भाष्य प्रचार गर्न उसले संसारभर सर्वदलीय टोली खटाएर र मिडियालाई उपयोग गरी मनोवैज्ञानिक युद्ध लडिरहेको छ । यद्यपि, अप्रेसन सिन्दूरको नतिजा र युद्धविराममा अपनाइएको प्रक्रियाप्रति भारतभित्रै जनमत विभाजित छ ।
मनोवैज्ञानिक युद्ध र यसको प्रभाव : यी दुई ताजा अप्रेसनको तुलना गर्दा भारतले आफूतर्फ भएको क्षतिलाई गोप्य राख्न चाहेको छ भने रुसले क्षति भएको स्विकारेको छ । भारत अप्रेसन सिन्दूरमा सफल भएको भाष्य प्रचार गर्न मनोवैज्ञानिक युद्धमा उत्रिएको छ भने अप्रेसन स्पाइडरवेब समाप्त हुनेबित्तिकै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले दिएको एउटा भिडियो वक्तव्यले संसारलाई हल्लाइदिएको छ । सायद युक्रेनले आक्रमणपश्चात् रुसी विमानमा आगजनी भएको भिडियो फुटेज सार्वजनिक नगरेको भए रुसले व्यहोरेको क्षतिबारे विश्व समुदायलाई जानकारी हुने थिएन, दाबी र प्रतिदाबीमै सीमित रहने थियो । मनोवैज्ञानिक युद्ध विनातथ्य बोलेर वा प्रचारबाजी गरेर भन्दा उच्च प्रविधिको उपयोगमार्फत संकलित ‘भिडियो फुटेज’जस्ता प्रमाणसहित प्रचार गरेको खण्डमा यसले छिटो र व्यापक मनोवैज्ञानिक प्रभाव पार्न सक्छ ।
ट्याक्टिकल उपायको रणनीतिक नतिजा : युक्रेनले युद्धमोर्चामा पनि रुसविरुद्ध ड्रोन प्रयोग गरी रुसी फौजमाथि व्यापक भय सिर्जना गरेको छ । रुसी सेनाको युक्रेनी युद्धमोर्चामा भाग लिएर फर्केका केही नेपालीले दिएको अन्तर्वार्तामा रातको समयमा मोबाइल चलायो वा टर्च बाल्यो भने तुरुन्तै त्यहाँ युक्रेनी ड्रोन आक्रमण भइहाल्थ्यो भनेका छन् । गत तीन वर्षमा रुसतर्फ दश लाख मानिस हताहत भएको अनुमान गरिएको छ । जब कि सोभियत संघले सन् १९७९ मा अफगानिस्तानमा सैनिक हस्तक्षेप गरेपछिको एक दशक लामो लडाइँमा करिब ४० हजार सोभियत सैनिक मात्र हताहत भएका थिए । विगत तीन वर्षमा ड्रोन वारफेयरमा युक्रेन विश्वगुरु बन्न सफल भएको छ । युक्रेनको सफल स्पाइडरवेब अप्रेसनले युद्धकलामा इतिहास नै रचेको छ ।
युक्रेनले हजारौँ माइल टाढा शत्रुको भूमिमा घुसेर ११७ वटा सस्तो मूल्यका ड्रोनबाट गरेको ट्याक्टिकल अप्रेसनले नसोचेको रणनीतिक सफलता हासिल गरेको छ । अप्रेसनको गोप्यता र ‘सरप्राइज’ कायम राखेर प्रविधिको उच्चतम प्रयोग गरी सञ्चालन गरिएका यस्ता ‘कोभर्ट अप्रेसन’बाट चिताएभन्दा कैयन् गुणा बढी नतिजा हासिल गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ । अर्कातर्फ रुसले कैयन् रणनीतिक शस्त्रअस्त्र प्रयोग गरेर युक्रेनमाथि हमला जारी राख्दा पनि तीन वर्षमा उसले करिब २१ प्रतिशत युक्रेनी भूभागमाथि मात्र कब्जा गर्न सफल भएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका भ्रमण गर्दा ह्वाइट हाउसको ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उनलाई भनेका थिए, ‘यू डन्ट ह्याभ एनी कार्ड’ (तपाईंसँग कुनै कार्ड छैन) । अप्रेसन स्पाइडरवेबले स्पष्ट रूपमा युक्रेनसँग पनि कार्ड छ भन्ने कडा सन्देश विश्वलाई दिएको छ । यसले तुलनात्मक रूपमा कमजोर राष्ट्रले पनि आधुनिक प्रविधिको कुशल प्रयोग गरेको खण्डमा भयानक परिणाम निकाल्न सक्छ भन्ने प्रमाणित गरेको छ । यद्यपि, ड्रोनलगायत अत्याधुनिक प्रविधिको उपयोग आतंकवादी संगठनले गरेको खण्डमा यसले विश्वमा ठुलो सुरक्षा चुनौती खडा गर्नेछ ।
युद्धको चरित्रमा प्रविधिको प्रभाव : अप्रेसन स्पाइडरवेबको सफलताले एसिमेट्रिक युद्धमा कमजोर शक्तिराष्ट्रले पनि प्रविधिको विकास र प्रयोगमा उच्च कौशल देखाउन सकेमा नसोचेको सफलता हासिल गर्न सकिन्छ भन्ने विश्व सैनिक इतिहास रचेको छ । यसले युद्धको चरित्रलाई समेत परिवर्तन गरिदिएको छ । अबको युद्ध लामो दूरीको आर्टिलरी, एअर डिफेन्स, मिसाइल, युद्धक विमान, ड्रोन, स्याटेलाइट, आर्टिफिसियल इन्टेलिजेन्स आदिका बलमा लडिनेछ ।
इजरायलले हिजबुल्हाको पेजर र वाकिटकी पड्काएर ठुलो क्षति पुर्याएपछि द्वन्द्वमा प्रविधिको महत्वलाई बढाइदिएको छ । रुस–युक्रेन युद्ध र भारत–पाकिस्तान चार दिने लडाइँमा प्रविधिले अभूतपूर्व प्रभाव पारेको छ । प्रविधिको प्रयोगमा पाकिस्तान पनि निकै अघि देखिएको छ । भावी युद्धमा प्रविधिको अत्यधिक प्रयोग हुने र त्यसले युद्धको नतिजामा निर्णायक रूपमा फरक पार्नेछ । सूचना संकलन, आक्रमण र प्रतिरक्षामा प्रविधिको महत्वपूर्ण योगदान हुने र शत्रुको प्रविधिलाई नाकाम बनाउन पनि आफूसँग थप उत्कृष्ट प्रविधि आवश्यक पर्ने भएकाले प्रविधिमा श्रेष्ठता राख्ने देश शक्तिशाली र निर्णायक हुने सम्भावना छ । युक्रेनले जस्तै दक्ष युवाजनशक्तिको प्रयोग, अन्वेषण र उच्च प्रविधिमा आधारित सेना निर्माण गरेका खण्डमा नेपालजस्ता तुलनात्मक साना र कमजोर देशले पनि आफ्नो प्रतिरक्षा आफैँले गर्न सम्भव छ भन्ने प्रमाणित गरेको छ ।
(डा. सिलवाल नेपाली सेनाका आवकाशप्राप्त उपरथी हुन्)