१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १४:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरी-सिराहा सडकको नयाँ ट्र्याक खुल्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५o:oo

सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्र्याक तीव्र गतिमा खोल्न थालेको छ। करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्नेछ।

सडक सुरु हुनेबित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठुलो फरक पर्ने व्यवसायीको भनाइ छ। स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए। पहाडको उत्पादन तराईतर्फ र तराईको उत्पादन पहाड पठाउन सजिलो हुने उनको भनाइ छ। 

युवा तथा खेलकुद विकासमन्त्री एवं सप्तरी क्षेत्र नम्बर ४ का संघीय सांसद तेजुलाल चौधरीले सडक निर्माण कार्यको शिलान्यास शुक्रबार गरेका थिए। उनले सहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारीसाधन आवागमनमा सहजताका लागि नयाँ ट्र्याक खोल्न थालिएको बताए। 

मन्त्री चौधरीले पहाडबाट सिधै तराई आउनेका लागि कल्याणपुर बजार राम्रो गन्तव्य बन्ने बताए। यहाँका स्थानीयका लागि आफ्नै व्यापार र कृषि उत्पादनका सामग्री सजिलै ओसारपसार गरी आयआर्जन बढाउन सक्ने उनको भनाइ छ। 

चालू आवमा संघीय सरकारले विनियोजन गरेको रु. आठ करोड ४५ लाख २० हजार ८५० बजेटबाट मिसन कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि काठमाडौँले चार करोड ४० लाख नौ हजार ४३९ भ्याटसहित ठेक्का सम्झौता गरेको छ। विसं २०८२ वैशाख २५ गते सम्झौता भई असार ३० गतेसम्म कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालयका इन्जिनियर चन्द्रकान्त चौधरीले जानकारी दिए। 

उनले सडकमा पर्ने रुख काट्न वन कार्यालयले स्वीकृति समयमा नदिँदा सडक निर्माण कार्य बढाउन ढिलाइ भएको बताए। वन कार्यालयले सडकमा पर्ने रुख काट्न स्वीकृति दिएसँगै सडक निर्माण कार्यले तीव्रता पाएको छ। मिसन कन्ट्रक्सन एन्ड सप्लायर्स प्रालि काठमाडौंका प्रतिनिधि इन्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको सडकको ट्र्याक खुल्न लागेको हो। 

उनका अनुसार अहिले नयाँ ट्र्याक खोल्ने र सडकलाई बाढीपहिरोबाट बचाउन पलम कन्ट्रिक वाल, गाविन र कच्ची नाला निर्माणको काम हुनेछ।

उनले भने, ‘हामी तीव्र गतिमा सडकको ट्र्याक खाल्ने काम गरी रहेका छौँ, मौसमले साथ दिए समयमै काम सकाउनेछौँ।’ 

नयाँ सडकको ट्र्याक खुल्ने भएपछि स्थानीय खुसी भएका छन्। कल्याणपुर बजारका सञ्जु चौधरीले भने, ‘ट्र्याक खोल्ने काम सकिएलगत्तै समयमा नै सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरिदियो भने हामी फिलिली घरबाट छोटो समयमा गाईघाट पुग्नेछौँ।’