१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार २१:३५:oo
Read Time : > 1 मिनेट
खेलकुद

सकियाे राष्ट्रिय इन्डोर आर्चरी प्रतियाेगिता

रिकर्व इन्डिभिजुअलको उपाधि महिला र पुरुषतर्फ नेपाल पुलिस क्लबकी आयशा तामाङ र तिलक पुनले हात पारे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार २१:३५:oo

पोखरामा सम्पन्न सातौं संस्करणको राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिता ०८२ अन्तर्गत रिकर्व इन्डिभिजुअलको उपाधि महिला र पुरुषतर्फ नेपाल पुलिस क्लबकी आयशा तामाङ र तिलक पुनले हात पारेका छन् ।

गण्डकी प्रदेश आर्चरी संघको आयोजना, नेपाल आर्चरी संघको प्राविधिक सहयोगसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोगमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबारदेखि सुरु प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा आयशाले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबकी मित्र राईलाई ६–४ र तिलकले आर्मीकै रोशन नगरकोटीलाई ६–२ अंकले पाखा लगाउँदै उपाधि हात पारेका हुन् । आर्मीकी मञ्जु बजगाई र पुलिसका पवन श्रेष्ठले काश्य पदक जिते ।
रिकर्व पुरुष टीमतर्फ आर्मीले घरेलु टोली गण्डकी प्रदेश ए लाई ६–२ को अंकले पराजित गर्दै उपाधि हात पार्याे । गण्डकी बी टोलीले काश्य पदक पायो । रिकर्व मिक्स टिम विद्यामा पुलिसले स्वर्ण, आर्मीले रजत र गण्डकीले काश्य पदक जित्यो । 

रिकर्भ मिक्स टीमतर्फ पुलिसका तिलक पुन र आइसा तामाङको जोडीले आर्मीका रोशन नगरकोटी र मित्र राईको जोडीलाई ५–१ सेटमा पराजित गर्दै स्वर्ण र रजत पदक हात पार्दा गण्डकी ‘ए’ ले कास्य पदक जित्यो ।

स्टाण्डर्ड मिक्स टिमतर्फको फाइनलमा घरेलु टोली गण्डकीले आर्मीलाई ५–१ अंकले पराजित गर्यो । पुलिसले काश्य पदक हात पार्याे । स्टाण्डर्ड टीम पुरुषतर्फको फाइनलमा गण्डकी ए ले ५–३ अंकले पुलिसलाई पराजित गर्याे । खेलमा विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले काश्य पदक हात पार्यो । 

स्ट्याण्डर्ड महिला एकलतर्फ गण्डकी ‘ए’की रिना गुरुङले गण्डकी ‘ए’ की स्नेहा केसीलाई ६–० ले पराजित गर्दै क्रमशः स्वर्ण र रजत पदक हात पार्दा निता केसीले कास्य पदक पाइन । पुरुषतर्फ पुलिसका निकेश देशारले गण्डकीका मोहन घर्तीलाई ६–२ ले पराजित गर्दै स्वर्ण र रजत पदक हात पार्दा आर्मीका बसन्तराज काफ्लेले कास्य पदक हात पारे ।

कम्पाउण्ड इन्डिभिजुअल पुरुषतर्फ एपिएफका मिन गौचनले १४० अंकसहित स्वर्ण, १२९ अंकसहित गण्डकी ए का सुमन गुरुङले रजत र आर्मीका पवन राईले काश्य पदक हात पारे ।
कम्पाउण्ड इन्डिभिजुअल महिलातर्फ गण्डकीकी मोनिका राना मगरले १३७ स्कोर ल्याउदै स्वर्ण, १३६ अंकसहित एपिएफकी पार्षदा आचार्यले रजत र एपिएफकी निर्मला काङवाङले काश्य पदक जितिन् ।

प्रतियोगिताअन्तर्गत गण्डकीकी डा. निता केसी र उनका छोरी स्नेहा केसीले पदक हात पारे । आमा निताले काश्य पदक हात पार्दा कक्षा ९ मा अध्ययनरत प्रतियोगिता कै कान्छी खेलाडी छोरी स्नेहाले एक स्वर्ण र एक रजत पदक हात पारिन । 

विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल आर्चरी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं कास्की जिल्ला आर्चरी संघको संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगर, आयोजक संघ गण्डकीका अध्यक्ष किशोर कुमार गुरुङलगायतले पदकसँगै प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेशसँगै कोशी र बागमती प्रदेश, तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबका गरि २२ महिला र ४८ पुरुष गरि ७०  खेलाडी सहभागी रहेका प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिए ।

रिकर्व महिला÷पुरुष, रिकर्व टिम, रिकर्व मिक्स, कम्पाउण्ड महिला÷पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला÷पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम र मिक्स गरी १० विधामा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।