
निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो । पछिल्ला तीन वर्षको तुलना गर्दा क्रमशः सडक दुर्घटना र मानवीय क्षति कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको घटना अभिलेखले देखाएको छ ।
‘सडक सचेतनाका कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ, आर्थिक वर्ष २०७८/७९ यताका चालू आवसहित पछिल्ला दुई वर्षमा दुर्घटना र मानवीय क्षति घटेका छन्’, कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशी भन्नुहुन्छ, ‘आव २०७९/८० मा भएका ७४१ सडक दुर्घटनाको सङ्ख्या आव २०८०/८१ मा ५०४ मा झरेको छ ।’
यसैगरी, आव २०७९/८० मा दुर्घटनामा घाइते हुनेको संख्या एक हजार १०७ रहेको र पछिल्लो आव २०८०/८१ मा यो संख्या घटेर ७७२ मा झरेको अभिलेखले देखाएको छ । मृतकको संख्या भने यी दुवै वर्षमा बराबरी ६८ देखिएको छ ।
यसैगरी जारी आर्थिक वर्ष २०८१/८२ का बितेका १० महिनामा सडक दुर्घटनाका सङ्ख्या केही बढेको देखिए पनि १०० को हाराहारीका सामान्य प्रकृतिका छन् । जारी आवको वैशाखसम्म सानाठूला गरी ५३४ घटना दर्ता रहेमध्ये १०० घटना कुनै क्षति नभएका सामान्य प्रकृतिका रहेका प्रनि जोशीले स्पष्ट पारे । यस अवधिमा सडक दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ भने पाँच सय ६५ जना सामान्य घाइते भएका छन् ।
दिनदिनै सवारी साधन बढ्दै गएका बेला यसअघि बितेका वर्षहरुको तुलनामा यसअवधिको यो कम क्षति हो । ट्राफिक प्रहरीले पछिल्ला दुई वर्षयता सडक सुरक्षा सचेतनाका कार्यक्रमलाई बढाउँदै लगेको छ । यातायात व्यवसायी, चालक, यातायात मजदुर, सडकमा हिँड्ने सर्वसाधारण र विद्यालयका विद्यार्थीबीच चरणचरणमा सचेतना कार्यक्रम गरिएका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले पछिल्लो पटक अहिले सचेतनाअन्र्तगत ‘सडक सुरक्षा सप्ताह’ कार्यक्रम मनाइरहेको छ ।
गत बिहीबार सुरु भएको यो कार्यक्रम विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आउने बुधबार समापन गर्ने तालिका छ । पछिल्लो ‘सडक सुरक्षा सप्ताह’ का कार्यक्रम जिल्लाका बर्दिवास, जलेश्वर, गौशाला, रामगोपालपुर र सम्सीसहितका ठाउँमा एकपछि अर्को गरेर सम्पन्न गरिँदै छन् । कार्यक्रममा सबै तर्फबाट प्राप्त चासो र सहयोगले सचेतना कार्यक्रम बढाउन हौसला मिलेको प्रनि जोशीको भनाइ छ ।