
इन्टिग्रिटी आइडल घोषित भएका एक उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। खोटाङको तत्कालीन जिल्ला शिक्षा अधिकारी हुँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार ज्ञानमणि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
खोटाङको दिप्रुङ चुइचुप्पा गाउँपालिका– ७ स्थित कृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो। गुणस्तरहीन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख हुँदाहुँदै पनि सुधार नगरी बजेटको अति आवश्यक रहेको देखाएर झुट्टा बिलभर्पाइका आधारमा रकम निकासाका लागि जिल्ला शिक्षा कार्यालयबाट सदर गरी साढे २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको छ। यसमा संलग्न भएको आरोप नेपाललाई अख्तियारले लगाएको छ। नेपाल पहिलो इन्टिग्रिटी आइडल हुन्। अकाउन्टिबिलिटी ल्याब नामक संस्थाले यो आइडल दिन्छ । उनी सन् २०१४ मा इन्टिग्रिटी आइडल घोषित भएका थिए । सामाजिक र पेसागत क्षेत्रमा उत्कृष्ट योगदान गरेकालाई यो संस्थालो इन्टिग्रिटी आइडल घोषित गर्छ । खासगरी सार्वजनिक प्रशासनमा सक्षम, इमानदार, पारदर्शिता र जवाफदेही कर्मचारीलाई छानेर यो आइडल दिइन्छ ।
तर, इन्टिग्रिटी आइडल घोषित भएको केही समयमै ०७५ मा उनलाई जबर्जस्ती करणीको आरोप लागेको थियो । सानी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दियाको जिल्ला शिक्षा अधिकारी हुँदा उनीमाथि मुद्दा नै दायर भएको थियो।
विद्यालयको चारकोठे आरसिसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी कुल ४५ लाख १० हजार ८९२ रुपैयाँमा काम गर्नेगरी सम्झौता भएको थियो । तर, न्यून गुणस्तरको भवन बनाएको र प्रचलनमै नआएको अख्तियारको दाबी छ।
भवन निर्माणको क्रममा सम्झौता, लागत अनुमान र नापी नक्साबमोजिम वास्तविक रूपमा गुणस्तरीय काम फिल्डमा नभएको, निर्माण कार्यमा लागतअनुसारको सामान प्रयोग नभएको, प्लास्टर फुटेको, भुइँको पिपिसी फुटेको, सिलिङमा रड बाहिर देखिने गरी ढलान भएको अवस्था देखिएको अख्तियारले उल्लेख गरेको छ । यसैगरी कमसल ढलान गरेको पनि फिल्ड अनुगमनबाट देखिएको थियो ।
तयार गरेको भवनमा पठनपाठन गर्न अयोग्य रहेको र भवन जोखिमपूर्ण रहेको देखिएको छ । यस्तो भवनको निर्माण कार्यको जिम्मेवारी वहन नै नगरी विद्यालयको खातामा रोक्का रहेको रकम निकासा गर्न नापी किताब तथा मूल्यांकन प्रतिवेदनसमेतमा हस्ताक्षर गरी २५ लाख ५० हजार रुपैयाँ निकासा दिइएको थियो । फिल्डमा हुँदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार रकमको मूल्यांकन प्रतिवेदनलाई सदर गरेको र गुणस्तरहीन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख हुँदाहुँदै पनि सुधार नगरी बजेटको अति आवश्यक रहेको देखाएर झुट्टा बिलभर्पाइका आधारमा रकम निकासाका लागि सदर गरी जिल्ला शिक्षा कार्यालयले साढे २५ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ ।
भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपाललाई प्रमुख प्रतिवादी कायम गरेको छ । उनीविरुद्ध साढे २५ लाख बिगो कायम भएको छ । त्यस्तै, जिल्ला शिक्षा कार्यालयकै तत्कालीन इन्जिनियर वृधन यादव र सबइन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू टीकाराम राई र जयप्रसाद राईलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।