
सघन सहरी तथा भवन निर्माण कार्यालय, रामेछापका तत्कालीन तीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूमाथि कमिसन लिएको, गैरकानुनी लाभ लिएको, गैरकानुनी व्यापार व्यवसाय र सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग छ ।
कार्यालय प्रमुखहरू अम्मरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले तथा तत्कालीन लेखा प्रमुख यमलाल बेल्वासे र सुरेशप्रसाद दाहाल तथा अस्थायी नासु टीकाप्रसाद भट्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
उनीहरूमध्ये भट्टलाई मुख्य प्रतिवादी बनाइएको छ । उनले एक करोड १५ लाख चार हजार रुपैयाँ अनियमितता गरेको अभियोग छ ।
आयोगले ०४९/५० देखि ०८०/८१ सम्म सो आयोजनामा भएका अनियमितताको छानबिन गरेको थियो । आयोगद्वारा प्रकाशित विज्ञप्तिअनुसार अस्थायी नासु भट्टले आफू पत्रकार भएको भन्दै प्रभावमा पारी दोहोरो गैरकानुनी लाभ लिँदै आएका थिए । सरकारी पदमै रहेका वेला अन्य संस्थाहरूमा आबद्ध भएर उनले पारिश्रमिक लिँदै आएको आयोगले जनाएको छ ।