१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २३ शुक्रबार १३:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँदर कुद्ने ऐनापहराे अहिले पर्यटकको रोजाइमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १३:३६:oo

हेर्दा डरलाग्दो पहराे । त्यही पहराेका ढुंगामा कुँदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ। यो दृश्य पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराेको हो । बाँदर कुद्ने उक्त पहराे अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ। आँबुखैरेनी गाउँपालिका– २ र ४ को सिमानामा रहेको प्राकृतिक पहराे क्षेत्रमा पार्क बनाएर पर्यटकलाई भुलाउने र मनोरञ्जन प्रदान गर्ने जमर्को गाउँपालिकाले गरेको छ। साथै पर्यटकलाई आकर्षण गर्दै आन्तरिक स्रोतको बलियो माध्यम गाउँपालिकाले बनाउँदै आएको छ। 

यही राजमार्ग भएर पोखरा, चितवन र काठमाडौंलगायत सहर जान दैनिक सयौँ सवारीसाधन गुड्ने गर्दछन्। यहाँको मनमोहक पानीको छहराले मनै शीतल बनाउनुका साथै रमणीय प्राकृतिक दृश्य र आकर्षक किसिमले कुँदिएका मूर्तिले जोकोहीलाई सजिलै आकर्षण गर्ने गर्दछ।गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ मा रु. डेढ करोडभन्दा बढी लगानी गरी भौतिक संरचना निर्माण गरेर पर्यटन प्रवर्द्धनको काम सुरुवात गरेपछि अहिले आम्दानीको स्रोत बन्ने गरेको छ। 

पहराेको ढुंगामा कुँदेर सुन्दर परीको मूर्ति, हात्तीको सुँड, आमा र बच्चाको मूर्ति निर्माण गरिएको छ भने पहराेमाथिबाट खस्ने पानीको छहराले पर्यटकलाई छुट्टै आनन्द दिलाउँछ । गाउँपालिकाले आर्थिक वर्षको ०८१/८२ साउनदेखि वैशाखसम्म रु. ४२ लाख आम्दानी गरिसकेको छ। गाउँपालिकाले वातावरण शुल्कबापत प्रवेश शुल्कमा स्थानीयलाई रु. ५० र बाह्य पर्यटकलाई रु. एक सय  शुल्क कायम गरेको छ। 

अन्य दिनको तुलनामा बिदाका दिनमा पर्यटकको बाक्लो भिड लाग्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सोही पार्कभित्र ऐनापहराे रेस्टुराँ होटेल सञ्चालनमा रहेको छ । गाउँपालिकाले बोलपत्रमार्फत मासिक रु. ४६ हजार पाँच सयमा भाडामा लगाएको छ। 

गत शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा रु. ४६ हजार तीन सय रकम संकलन भएको थियो । उनले भने, ‘उक्त रकम अहिलेसम्मकै धेरै संकलन भएको हो, अन्य दिनमा कम्तीमा रु. ८–१० हजार टिकट बिक्रीबाट आम्दानी हुने गरेको छ।’

आगामी वर्ष वार्षिक रु. एक करोडसम्म आम्दानी गर्ने अपेक्षा गाउँपालिकाले लिएको छ। उनले भने, ‘पर्यटकलाई अझै आकर्षण गर्न सिसाको पुल र जिपलाइन, स्काइवाकलगायत साहसी खेलका लागि संरचना निर्माण गर्न थालेको छ, अबको १० दिनभित्र सञ्चालनमा ल्याई पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ।’ 

गाउँपालिकाले पर्यटकीयस्थल परिचाहन गरी मर्स्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरिसकेको छ। आदीमूल मन्दिर र सामुद्रिक सहतदेखि छिम्केश्वरी माई तथा बुढीमाई मन्दिरको पूर्वाधार र मन्दिर संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्दै आएको छ।  पृथ्वी राजमार्ग भएर दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकिने प्रचुर सम्भावना देखिएकाले यो क्षेत्र पर्यटकीयस्थलका रूपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। 

छुटाउनुभयो की ?