
बुटवल– १५ मा लामो समयदेखि लालपुर्जाविहीन जग्गाधनीलाई (जग्गाधनी प्रमाणपत्र) पुर्जा वितरण गरिएको छ। बिहीबार बुटवल– १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो। करिब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आए पनि पुर्जाविहीन रहेका ४२ घरजग्गाका धनीलाई बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा वितरण गरे।
लालपुर्जा वितरण गर्दै उनले बुटवलका अरू धेरै स्थानमा नापजाँच भएर पुर्जा दिन बाँकी रहेका सबैलाई छिट्टै नै पुर्जा दिने गरी प्रक्रिया अगाडि बढाएको बताए। उनले अहिले पनि बुटवल उपमहानगरपालिकाभित्र लालपुर्जाविहीन क्षेत्रको नापजाँच भइरहेको र प्रक्रिया पूरा गरेका स्थानको पुर्जा दिने गरी काम अगाडि बढेको पनि बताए । गाउँब्लकका जग्गाहरूको नापजाँच छुटेको भएमा वा कुनै समस्या रहेको भएमा बुटवल उपमहानगरपालिकाले सबै खर्च व्यहोरेर नापजाँच गरेर पुर्जा दिने गरी अगाडि बढाउने प्रमुख पाण्डेयले बताए।
उनले ६१ वर्ष अघिदेखि जमिन खरिद गरेर बसोबास गरेकालाई पुर्जा दिन पाउँदा खुसी लागेको र केही स्थानमा बसोबास र पुर्जाको विवरण फरक परेकाले त्यसको समेत सहजीकरण गरी पुनः नापजाँच गरी पुर्जाको त्रुटि सच्याउने गरी प्रक्रिया अगाडि बढाएको बताए। नापी कार्यालयसँगको सहकार्यमा सबै क्षेत्रका जमिनको पुर्जासम्बन्धी समस्याहरू समाधानका लागि अध्ययन भएको र छिट्टै नै काम अगाडि बढ्ने उनको भनाइ छ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पुर्जा प्राप्त गर्ने गरी प्रक्रिया पूरा भएकाहरूलाई लालपुर्जा वितरण गर्ने गरी काम भएको बताइन्। कार्यक्रममा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सुग्रिव यादव, वडा नम्बर १५ का अध्यक्ष शिव रानालगायतले बोल्दै बुटवल उपमहानगरपालिकाभित्र प्रक्रिया पूरा गरी पुर्जा वितरणका लागि तयार भएका जग्गाहरूको पुर्जा वितरणको काम अगाडि बढेको बताएका थिए ।