
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा २० असोज ०६४ मा नेपालमा दर्ता भएको थियो । यसको संस्थापक पाँचजना छन् । जसमा संरक्षक स्वामी रामदेव, अध्यक्ष आचार्य बालकृष्ण र सदस्यहरू राजेन्द्र दास, राजेन्द्र सिंह र शालिग्राम सिंह रहेका छन् ।
रामदेव, बालकृष्ण, दास र शालिग्रामको उपस्थितिमा २३ असोज र २३ कात्तिक ०६४ मा बसेको बैठकबाट कम्पनीको स्थायी लेखा नम्बर प्राप्त गर्नेदेखि नेपालमा कम्पनीका नाममा आश्रयस्थल निर्माण तथा अन्य कार्यका लागि चलअचल सम्पत्ति खरिद तथा बिक्री गर्न रजिस्ट्रेसन नामसारी, बैंकसम्बन्धी आर्थिक अधिकारलगायतका सम्पूर्ण कामकारबाही गर्न शालिग्रामलाई अख्तियार दिएको थियो । शालिग्रामले आफू वा अन्यलाई अख्तियार दिई कानुनबमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्नका लागि अख्तियारवाला नियुक्त गर्ने गरी निर्णय भएको देखिन्छ ।
बयानका क्रममा पनि सिंहले हदभन्दा बढी जग्गा खरिद–बिक्रीलगायतका सम्पूर्ण कार्य आफैँले गरेको स्वीकार गरेका छन् । आफूले गरेका कार्यको मौखिक/अनौपचारिक जानकारी संस्थापकहरूलाई गराएको उनको बयान छ ।
छानबिनका क्रममा अख्तियारले रामदेव र बालकृष्णलाई पनि बयानका लागि पत्र पठाएको थियो । पत्र उनीहरूका नाममा तामेलसमेत भएको थियो । पत्रको जवाफमा उनीहरूले यस प्रकरणमा आफूहरू संलग्न नभएको र नेपाल प्रतिनिधि नै जिम्मेवार भएको दाबी गरेका थिए । पछि थप प्रमाण देखिएको अवस्थामा अरू संस्थापकमाथि पनि अनुसन्धान गर्ने निर्णय अख्तियारले गरेको छ ।