
प्रदेश युवा परिषद् बागमतीले रामेछापका विभिन्न ६ वटा विद्यालयका किशोरीलाई दुईदिने आत्मरक्षा तालिम प्रदान गरेको छ ।
किशोरीहरूमा आत्मरक्षाको सिप नहुँदा धेरै किशोरी र महिला विभिन्न लैंगिक हिंसामा पर्ने गरेका घटना समाजमा बढ्दै गएकाले त्यसबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयमा अध्यनरत किशोरीलाई तालिम प्रदान गरिएको हो । बुधबारबाट सदरमुकाम मन्थलीमा सुरु भएको तालिम आज सकिएको छ ।
तालिममा मन्थली माध्यमिक विद्यालय, नागकन्या मावि, शारदा संस्कृत मावि, लिटिलस्टार बोर्डिङ स्कुल, तामाकोशी विद्यालय र कर्कलादेवी विद्यालयका किशोरीको सहभागिता रहेको प्रशिक्षक पार्वती सुवेदीले जानकारी दिइन् । दुई दिन चलेको उक्त तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गरेका थिए ।