
नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले रेकर्ड स्कोरसहित ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपालकै राहुल विश्वकर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरले हराउँदै सदभाव पहिलोपटक एमेच्योर च्याम्पियन बनेका हुन् ।
गोकर्ण गल्फ क्लबमा सदभावले बिहीबार समग्रमा २० अन्डर १९६ को स्कोर गरे । उनले ५४ होलको १८ अन्डरको कुल रेकर्डसमेत तोडे । उनले प्रतियोगितामा दोहोरो उपाधि हात पारेका छन् । बुधबार उनले राहुलसँगै मिलेर टिम इभेन्टको उपाधि जितेका थिए ।
नेपालका राहुल र भारतका सुमित कोटवालले समान १० अन्डर २०६ स्कोर गरेका थिए । तर, काउन्ट ब्याकमा राहुल दोस्रो र सुमित तेस्रो भए । राहुलले एक स्वर्ण र एक रजत हात पारे । राहुलले ४ अन्डर ६८ को उत्कृष्ट स्कोर निकाले । सुमितले इभन पार ७२ खेले । आठ स्ट्रोकको सानदार अग्रताका साथ अन्तिम दिनमा सदभावले पहिलो र नवौँ होलमा बर्डी प्रहार गरे । दोस्रो, पाँचौँ र छैटौँ होलको बोगीका कारण उनले फ्रन्ट नाइन १ ओभर ३७ स्कोर गरे ।
ब्याक नाइनमा उनले तीन बर्डी निकाले । १०औँ, १४औँ र १५औँ होलमा समान एक सट बचाउँदै सदभावले ब्याक नाइन ३ अन्डर ३३ स्कोर गर्दै उपाधि पक्का पारे । राहुलले तेस्रो होलको बर्डीका विरुद्ध छैटौँ होलको बोगीले फ्रन्ट नाइन इभन पार ३६ स्कोर गरे । ब्याक नाइनमा चार होलमा बडी निकाली उनी दोस्रो भए ।
लगातार तीन बडीको साथमा उनले ब्याक नाइन ४ अन्डर ३२ स्कोर गरेका थिए । प्रतियोगिताको महिलामा भारतकी अनन्थी विवेकले उपाधि जितेकी छिन् । अनन्थीले समग्रमा इभन पार २१६ स्कोर गरी उपाधि हात पारेकी हुन् । दिया क्रिस कुमारलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराइन् ।