
सामुदायिक विद्यालयमा स्वच्छ खानेपानीसहित शौचालय र सरसफाइका लागि सरकारले कार्यविधि नै बनाएर लागू गरेको छ। तर, सिराहाको नरहा गाउँपालिकाअन्तर्गतका आधारभूत विद्यालयमा शौचालय नहुँदा शिक्षक शिक्षिकासहित विद्यार्थीहरू शौच गर्न झाडी र खेतबारीतिर जान बाध्य छन्।
नरहा गाउँपालिका– ३, खोरिया बत्राहीस्थित जनता आधारभूत विद्यालयमा शौचालय नहुँदा शिक्षकशिक्षिका र बालबालिकाहरू झाडीको सहारा लिन बाध्य छन्। खोरिया बत्राहीको विद्यालयमा करिब दुई दशकअघि निर्माण गरिएको शौचालय भत्केर प्रयोग गर्नै नमिल्ने भएपछि समस्या झेलिरहेको प्रधानाध्यापक रामकुमारी यादवले गुनासो गरिन्।
‘विद्यालयमा कार्यरत शिक्षक शिक्षिका, कार्यालय सहायकको तलब र मसलन्दबापात न्यून रकम मात्र पालिकाले दिइरहेको छ,’ उनले भनिन् ‘आफ्नै आर्थिक स्रोत नरहेको र पालिकाले समेत शौचालय पुनर्निर्माणका लागि बजेट नदिँदा सास्ती झेल्नुपरेको छ।’
चापाकल छ, तर पानी आउँदैन
शौचालय मात्र नभई विद्यालयमा खानेपानीको समेत समस्या छ। ‘लामो समयदेखि विद्यालयमा खानेपानीको लागि चापाकलसमेत नहुँदा बढ्दो गर्मीमा साह्रै अप्ठ्यारो छ,’ प्रधानाध्यापक यादवले भनिन्। पानीको चर्को समस्या भएपछि पालिकालाई हारगुहार गरेर गत वर्ष एउटा चापाकल जडान गरे पनि केही दिन चलेर पानी नै आउन छाडेको उनले सुनाइन्।
‘पुरुष शिक्षक र साना नानीहरूले झाडीको प्रयोग गरे पनि शिक्षिकाहरूलाई कठिनाइ छ,’ उनले भनिन्, ‘पालिकालाई खानेपानी र शौचालयको व्यवस्था गरिदिन पटक-पटक मौखिक र लिखित आग्रह गर्दै आएका छौँ। तर, निरन्तर बेवास्ता हुँदै आएको छ।’ विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्रा यादवले भनिन्, ‘शौच लाग्यो भने झाडी र खेतबारीमा जान्छौँ, खेतबारीका धनीले गालीगलौज गर्छन्।’ विद्यालयमा खानेपानी नभएकाले बोतलमा भरेर घरबाट नै ल्याउने गरेको उनले सुनाइन्। कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा करिब ९० विद्यार्थी, शिक्षक र कार्यालय सहयोगीसमेत गरी दुई पुरुष र दुई शिक्षिका कार्यरत छन्।
विद्यालयमा शौचालय र खानेपानीको अभावको विषयमा कुराकानी गर्न गाउँपालिका अध्यक्ष रामप्रमोद यादवसँग कुराकानी गर्ने प्रयास गरिए पनि सम्पर्कमा आउन चाहेनन्।
नरहा– ५, जगदीशपुर कालाबञ्जरस्थित आधारभूत विद्यालयमा पनि शौचालय प्रयोग गर्न लायकको नभएपछि शिक्षक शिक्षिकाले विद्यालयनजिकै घर रहेको छिमेकीको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाए। ‘विद्यालयमा चापाकल भए पनि महिनौंदेखि बिग्रिएको छ,’ विद्यालयकी प्र.अ.प्रेमकलीकुमारी यादवले भनिन्, ‘मर्मत हुन सकेको छैन। पानी नै नभएपछि शौचालय पनि कसरी प्रयोग गर्ने ?’ उनका अनुसार विद्यालयमा सात शिक्षक कर्मचारीमध्ये तीन शिक्षिका र १२५ भन्दा बढी विद्यार्थी छन्।
कार्यविधिबारे बेखबर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०७४ बमोजिम विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता कायम गरिनुपर्ने मापदण्ड तोकेको छ।
मापदण्डअनुसार विद्यालयमा स्वच्छ र हरियाली वातावरणका लागि फूलका बिरुवासहित करेसाबारी, खानेपानी, शौचालय, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपत् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहीता पर्छन्। तर, त्यो विषयमा पालिकाका जनप्रतिनिधि नै बेखबर रहेको शिक्षक शिक्षिकाहरू बताउँछन्। कार्यविधिबमोजिम मापदण्ड पूरा गर्ने विद्यालयहरूले हरेक शीर्षकमा एक, दुई र तीन तारा प्राप्त गर्ने व्यवस्था छ।