१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २२ बिहीबार o५:५७:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दुई पुजारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार o५:५७:oo

एक समृद्ध व्यापारी आफ्ना गुरुसित परामर्श गरेर कुनै न कुनै सुकर्ममा धन खर्च गर्ने गर्थे । त्यसै क्रममा उनले गुरुको सल्लाहबाट आफू जन्मी–हुर्केको गाउँ र अहिले बसोबास गरिरहेको सहरमा समान स्वरूपका दुई भव्य मन्दिर निर्माण गराए । दुवै मन्दिरमा एक–एक सुयोग्य पुजारी पनि नियुक्त गरे । नित्य देवपूजाका साथसाथै गरिबगुरुवालाई भोजनको विशेष व्यवस्था पनि मिलाए । वस्त्रहीनलाई वस्त्रको व्यवस्था मिलाए । रोगीको उपचारको उचित प्रबन्ध पनि मन्दिरपरिसरमै मिलाए । साथै, बालबालिकालाई उच्च नैतिक आचरणको शिक्षासहित पठनपाठनको व्यवस्थासमेत उनले मिलाए । 

छिट्टै नै दुवै मन्दिर श्रद्धालु भक्तजन तथा अन्य आगन्तुकको आस्थाको केन्द्र बने । दुवै मन्दिरमा भक्तजनको भिड लाग्न थाल्यो । व्यापारीको उद्देश्यअनुरूप नै दुवै मन्दिरको व्यवस्थापन चल्न थाल्यो । तर, केही समयपछि नै सहरका श्रद्धालु भक्तजनसमेत गाउँको मन्दिरतिर धाउन थाले । सहरको मन्दिरमा चहलपहल निकै घट्यो भने गाउँमा चर्को भिडभाड देखिन थाल्यो । व्यापारीले यसको कारण पत्ता लगाउन सकेनन् । उनी चिन्तित मन लिएर गुरुकहाँ पुगे । उनले आफ्नो समस्या गुरुसामु निवेदन गरे । उनको निवेदन सुनेपछि गुरुले केही समय विचार गरेर भने– ठिकै छ, तिमी एकपटकका लागि दुवै मन्दिरका पुजारीलाई अदलबदल गरेर हेर न त ! व्यापारीले गुरुको आज्ञाअनुसार दुवै मन्दिरका पुजारीलाई अदलबदल गरे । गाउँका पुजारी सहरको मन्दिरमा पुगे भने सहरका पुजारी गाउँको मन्दिरमा पुगे । 

केही दिन त सबै व्यवस्था ठिकठाक चल्दै गयो । तर, बिस्तारै अब सहरको मन्दिरमा भक्तजनको भिड बढ्न थाल्यो । गाउँका भक्तजनसमेत बडो कष्टसाथ सहरको मन्दिरसम्म धाउन थाले । यसबाट व्यापारी झनै दुःखी भए । आफ्नो गाउँघरका स्वजनले यसरी कष्ट उठाएको देख्दा उनी झनै विचलित भए । उनी पुनः गुरुको आश्रममा पुगे र आफ्नो समस्या बताए । व्यापारीको गुनासो सुनिसकेपछि गुरुले यसको वास्तविक कारण पत्ता लगाए र भने– चिन्ता छाड । तिमीले जसलाई सुरुमा गाउँको मन्दिरमा पुजारी नियुक्त गरेका थियौ, उनको हार्दिकतापूर्ण स्वभाव, बोली, वचन र व्यवहारका कारण पहिले मानिस गाउँको मन्दिरतिर धाउँथे भने अहिले उनैका कारण मानिस सहरको मन्दिरतिर धाइरहेका छन् । व्यक्तिको स्वभाव, बोलीवचन र व्यवहारले मानिसलाई आकर्षित र विकर्षित दुवै गर्न सक्छ । यहाँ भएको पनि त्यही हो । गुरुको भनाइ सुनिसकेपछि व्यापारीले वास्तविकताको बोध गरे ।

छुटाउनुभयो की ?