
आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३:४५ मा सुरु हुनेछ ।
लिग– २ को आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।
यस शृंखलाको उद्घाटन खेलमा नेदरल्यान्ड्स पनि सुखद सुरुवातको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।
विश्वकप लिग– २ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अंकका साथ दोस्रो स्थानमा छ । तेह्र खेल खेलेको नेपाल आठ अंकका साथ सातौँ स्थानमा छ । आठ टोली सहभागी लिग– २ आइसिसी विश्वकप २०२७ को छनोट प्रतियोगिता हो ।
सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार शाह, भीम सार्की, आरिफ शेख, गुल्सन झा, बसिर अहमद, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन् ।