
प्रविधि कम्पनीसँग विशाल जानकारी र प्राविधिक सामथ्र्य भएका कारण स्मार्टफोनको निर्भरता रोक्न व्यक्तिगत प्रयास मात्र पर्याप्त छैन
जुम्रा, उपियाँ र टेपवर्म मानव जातिको उद्विकासक्रमका पुराना साथीसंगी हुन् । तर, आधुनिक युगको सबैभन्दा ठुलो परजीवी कुनै रगत चुस्ने किरा भने होइन । यो चिटिक्क परेको समार्टफोन हो । यो परजीवीको होस्ट (पोषक) वाइफाई सिग्नल भएका प्रत्येक मानिस हुन् । सामान्य उपकरणजस्तो देखिने स्मार्टफोनले वास्तवमा प्रविधि कम्पनी र तिनका विज्ञापनदाताको फाइदाका लागि हाम्रो समय, ध्यान र व्यक्तिगत जानकारी चुस्छ । ‘अस्ट्रेलासियन जर्नल अफ फिलोसफी’मा प्रकाशित एक नयाँ लेखमा स्मार्टफोनलाई परजीवीको दृष्टिकोणबाट हेर्दा यसले अनौठो किसिमका सामाजिक जोखिम बोक्ने गर्छन् भनेर हामीले तर्क गरेका छौँ ।
परजीवी भनेको के हो ? : उद्विकासवादी जीवविज्ञका अनुसार परजीवी त्यस्तो प्रजाति हो, जसले अर्काे प्रजातिबाट फाइदा उठाउँछ, जसको मूल्य होस्टले तिर्छ । उदाहरणका लागि जुम्रा मानव रगतमा निर्भर हुन्छन् र बदलामा हामीलाई केवल पीडा दिन्छन् । स्मार्टफोनले जीवन सजिलो बनाएको छ, अर्थात् बाटो देखाउनदेखि रोगको निगरानीसम्म । तर, आज हामी धेरैजसो यसको लतमा फसेका छौँ । अनन्त ‘स्क्रोलिङ’का कारण निद्रा, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको छ । सुविधाको सट्टा हामी अब यसको शोषणको सिकार भइरहेका छौँ ।
पारस्परिकतादेखि परजीवितासम्म : सबै निकट प्रजातिबिचको सम्बन्ध परजीवी हुँदैन । उदाहरणका लागि जनावरको आन्द्रामा हुने ब्याक्टेरियाले पोषक तत्व खाएर बाँच्छ, तर यसले बदलामा पाचन सुधार र रोग प्रतिरोधमा मद्दत गर्छ । दुवैलाई लाभ हुने यस्तो किसिमको सम्बन्धलाई वैज्ञानिक भाषामा पारस्परिकता भनिन्छ । मानव र स्मार्टफोनको सम्बन्ध पनि सुरुमा यस्तै पारस्परिक थियो, अर्थात् सम्पर्क, जानकारी र सहजीकरणका लागि उपयोगी थियो । तर, अब यो सम्बन्ध परजीवीजस्तो भएको छ । समयसँगै पारस्परिक सम्बन्ध परजीवीमा रूपान्तरण हुनु प्रकृतिमा अस्वाभाविक होइन ।
परजीवीका रूपमा स्मार्टफोन : जति स्मार्टफोन अपरिहार्य बन्दै गएको छ, त्यति नै तिनमा रहेका केही लोकप्रिय एपले आफूलाई निर्माण गर्ने कम्पनी र तिनका विज्ञापनदाताको हितमा बढी काम गर्न थालेका छन् । यी एप प्रयोगकर्तालाई निरन्तर स्क्रोल गराइराख्ने र विज्ञापनमा क्लिक गराउने गरी डिजाइन गरिएका छन्, जसले क्रोध वा उत्तेजना बढाइरहन्छ । प्रयोगकर्ताको स्क्रोल गर्ने व्यवहारसम्बन्धी तथ्यांकलाई नै उनीहरूको ध्यान कब्जा गर्न फेरि प्रयोग गरिन्छ । तपाईंका स्वास्थ्य लक्ष्य वा पारिवारिक चाहनाप्रति फोनको चासो त्यति नै मात्र हुन्छ, जतिसम्म त्यसले तपाईंको ध्यान तान्न सक्छ । त्यसैले कहिलेकाहीँ प्रयोगकर्ता र फोनबिचको सम्बन्धलाई होस्ट र परजीवीको सम्बन्धसरह बुझ्नु उपयोगी हुन्छ । यो बुझाइ आफैँमा रोचक त छ, तर यसको मुख्य उपयोगिता तब हुन्छ, जब हामी भविष्यमा यो सम्बन्ध कता जान सक्छ भन्ने सोच्न थाल्छौँ र आफूलाई यस्ता प्रविधिगत परजीवीबाट जोगाउने उपाय खोज्न थाल्छौँ ।
पहरेदारी कसरी गर्ने त ? : अस्ट्रेलियाको ग्रेट बेरियर रिफमा पाइने एक सानो प्रजातिको ब्लुस्ट्रिक क्लिनर र्यास माछाले ठुला माछालाई सफा गर्ने पारस्परिक सम्बन्ध बनाएका छन् । ठुला माछाले परजीवीबाट छुटकारा पाउँछन् र साना माछाले खाना पाउँछन् । तर, कहिलेकाहीँ यी साना माछाले धोका दिँदै होस्टलाई नै टोकेर खान्छन्, जसले पारस्परिक सम्बन्धलाई परजीवितामा रूपान्तरण गर्छ । यस्तो अवस्थामा ठुला माछाले तिनलाई दण्डित गर्छन् र यो प्रक्रियालाई उद्विकासवादी जीवविज्ञले ‘पहरेदारी’ भन्छन्, जुन पारस्परिकता सन्तुलनमा राख्न जरुरी मानिन्छ । के हामी पनि स्मार्टफोनको शोषणमा यस्तै पहरेदारी लागू गर्न सक्छौँ ? उद्विकासवादी दृष्टिकोणअनुसार त्यसका लागि दुई कुरा आवश्यक छन् । पहिलो शोषण पहिचान गर्ने र दोस्रो त्यसको प्रतिक्रिया दिन सक्ने क्षमता निर्माण गर्ने ।
एक कठिन संघर्ष : स्मार्टफोनका सन्दर्भमा हामीलाई शोषण चाँडै थाहा हुँदैन । प्रविधि कम्पनीले फोन प्रयोगकर्तालाई आकर्षित गर्ने फिचर र एल्गोरिदम तयार गर्छन् । तर, ती कम्पनी यसको प्रचार गर्दैनन् । अझ भन्ने हो भने तपाईंलाई शोषणको जानकारी भए पनि त्यसविरुद्ध प्रतिक्रिया दिनु सजिलो हुँदैन । अर्थात्, फोन टाढा राखेर बस्न अब सहज छैन ।
हामीमध्ये धेरैजसो दैनिक कार्यका लागि स्मार्टफोनमा निर्भर भएका छौँ । जानकारी याद गर्नुको सट्टा हामीले त्यो काम डिजिटल उपकरणलाई सुम्पेका छौँ । यसले केही व्यक्तिको सोच्ने ढंग र स्मरणशक्ति नै परिवर्तन गर्न थाल्छ । हामी फोटो खिचेर जीवनका क्षण कैद गर्छौं वा गाडी कहाँ पार्क गर्यौँ भन्ने कुरासमेत फोनमा रेकर्ड गर्छौं । यसले हाम्रो स्मृतिलाई सुदृढ पनि बनाउँछ । तर, त्यसैगरी सीमित पनि बनाउँछ । सरकार र कम्पनीले पनि आफ्ना सेवा मोबाइल एपमार्फत अनलाइन प्रदान गरेर हामीलाई स्मार्टफोनमा थप निर्भर बनाएका छन् । जब हामी बैंक वा सरकारी सेवा लिन फोन चलाउँछौँ, त्यो क्षणमै हामीले यो युद्ध हारिसकेका हुन्छौँ ।
प्रश्न उठ्छ, हामी कसरी स्मार्टफोनसँगको असन्तुलित सम्बन्ध सुधारेर यसलाई फेरि पारस्परिक बनाउन सक्छौँ त ? हाम्रो विश्लेषणअनुसार व्यक्तिगत प्रयास मात्र पर्याप्त छैन, किनभने प्रविधि कम्पनीसँग विशाल जानकारी र प्राविधिक सामथ्र्य छ । अस्ट्रेलियाको ‘कम उमेर समूहको सामाजिक सञ्जाल प्रतिबन्ध’जस्तो नीतिगत कदम यस्ता परजीवी प्रविधिमाथि सामूहिक रूपमा नियन्त्रण गर्ने एक उदाहरण हो । यो लडाइँ जित्न चाहन्छौँ भने लत लाग्ने एप फिचरमा प्रतिबन्ध लगाउन र व्यक्तिगत तथ्यांक संग्रह तथा बिक्री रोक्न आवश्यक छ ।
(ब्राउन अस्ट्रेलियन नेसनल विश्वविद्यालयकी दर्शनशास्त्रकी सहप्राध्यापक हुन् भने ब्रुक्स युएनएसडब्लुका उद्विकासका वैज्ञानिक प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट