
ग्लोबल आइएमई बैंकले टोखा नगरपालिका, काठमाडौं र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङमा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयमा एक हजारवटा फलफूलका बिरुवा रोपेको हो ।
उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालयका प्रतिनिधि र विद्यार्थीसहित स्थानीयहरूको उपस्थिति थियो ।
साथै, बैंकले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडामा एक हजार पाँच सयवटा बाँसका बिरुवा रोपण गरेको छ । बैंकले सञ्चालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाल आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो ।
बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार बिरुवा रोप्ने लक्ष्य लिएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ । साथै, उक्त वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयको आय–आर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।